काठमडौं । छिमेकी मुलुक भारतको बिहार राज्यमा एक अनौठो घटना घटेको छ । बिहारको बान्का जिल्लास्थित एक विद्यालयकी शिक्षिकाले आफ्नो पर्सबाट हराएको रुपैया चोरी भए/नभएको पत्ता लगाउन सबै विद्यार्थीलाई मन्दिर लगेर कसम खुवाएको घटना सार्वजनिक भएको छ ।
घटना गत बुधबारको हो ।
बान्का जिल्लास्थित आस्मानिचक गाउँको राजौनका बालबालिका (विद्यार्थी)हरु विहान विद्यालय पुगेका थिए । शिक्षिका नितु कुमारीले आफ्ना विद्यार्थीलाई पानीको बोतल ल्याएर आफ्नो पर्स नजिकै राख्न भनेकी थिइन् । शिक्षिका नितुले भनेझै सबै विद्यार्थीले उनको पर्सनजिकै बोतलहरु राखेका थिए । बोतल राखेको केहि बेरपछि नितुले आफ्नो पर्स चेक गर्छिन् र पर्सबाट ३५ रुपैया हराएको चाल पाउछिन् । पैसा हराएपछि उनले सबै विद्यार्थीलाई सोधपुछ गर्छिन् । कुनैपनि विद्यार्थीबाट चित्तबुझ्दो जवाफ नभेटेपछि उनी सबै विद्यार्थीलाई नजिकैको दुर्गा मन्दिरमा पुर्याउछिन् र पैसा चोरे/नचोरेकोबारे कसम खुवाउन लगाउछिन् ।
त्यसदिन विद्यालयमा जम्मा १२२ विद्यार्थी उपस्थित थिए भने नितु ड्युटीमा एक्लै थिइन् । बुधबार विद्यालयमा भएको घटनाबारे सबै विद्यार्थीहरुले आफ्ना अभिभावकलाई सुनाउँछन् । घटना भएको भोलिपल्ट अर्थात् बिहिबार घटनाको विरोध गर्दै अभिभावकहरु विद्यालयमा उपस्थित हुन्छन् । घटनापश्चात अभिभावकहरुले ति शिक्षिकाविरुद्ध कारबाहिको माग गरेका थिए । कारबाहि नगरे विद्यालय बन्द गर्ने अभिभावकको चेतावनीपछि हाल ति शिक्षिकालाई तत्काल अन्यत्र सरुवा गरिएको टाइम्स अफ इन्डियामा उल्लेख छ ।
शिक्षिका नितुले भने घटनाबारे गलत बुझाई भएको उल्लेख गरेकी छन् । ‘मैले पैसा हरायो भन्दावित्तिकै विद्यार्थीहरु दौडिदै मन्दिर पुगेर कसम खाइरहेका थिए’ टाइम्स अफ इन्डियासँग उनले भनेकी छन् ‘भोलिपल्ट विद्यार्थीका अभिभावकहरु एकाएक विद्यालय पुग्दा म चकित भएँ । मैले यहाँ १८ वर्षदेखि पढाइरहेकी छु । आफ्नै विद्यार्थीमाथि चोरीको शंका कसरी गर्न सक्छु ।’ यद्यपि, नितुले आफ्नो हराएको ३५ रुपैया भने फेला पारेकी छैनन् ।
टाइम्स अफ इन्डियाबाट