काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी प्रभावशाली खेलाडि सावित्रा भण्डारी साम्बाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि सोमबार बिहान स्वदेश आइपुगेकी छिन्। फ्रान्समा व्यवसायीक फुटबल खेलिरहेकी साम्बा फिफा विन्डोमा हुन लागेको च्याम्पियन सिपका बाँकी खेलमा उपलब्ध हुनेछिन्। आज बिहान उनी एयर इण्डियाबाट काठमाडौँ फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।
सोमबार नै पहिलो खेलमा किर्गिस्तानविरुद्ध भने उनी टोलीमा नहुने नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए। आज मात्रै आइपुगेकाले उनलाई विश्राम दिने तामाङको भनाइ छ।
दशरथ रंगशालामा साँझ ६ बजे किर्गिस्तानसँग भिड्दा नेपाली टोलीको फ्रन्टलाइन रेखा पौडेलले सम्हाल्नेछिन्। सााउदीबाट व्यवासायिक फुटबल खेलिरहेकी उनी २ दिन अघिनै फर्किइसकेकी छन्।
त्यसअघि २ बजे म्यानमार र लेबनान भिड्नेछन्। च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानसँगै म्यानमार र लेबनान सहभागी हुनेछन्। चार टोली राउण्डरोविनका आधारमा खेलेपछि शीर्ष दुई टोलीले फााइनलमा प्रतिस्पर्धा गर्नेछन्।