पोखराका मेयर धनराजले ‘भूमिगत’ वडा न २१ मा फोहोर पुर्याएपछि स्थानियको विरोध

दियोपोस्ट संवाददाता  

कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विहिबार एउटा भिडियो र तस्विर पोस्ट गरेका थिए । फोहोर पुर्नका लागि खाडल खन्दै गरेको डोजर र खाल्डोसहितको तस्विरसहित पोस्ट भएको भिडियो कुन ठाउँको हो भन्ने खुलाइएको थिएन । सबैलाई फोहोर व्यवस्थापन हुने भो भन्ने आसा समेत जागेको थियो । तर, मेयर धनराजले भूमिगत रुपमा फोहोर व्यवस्थापन गर्न खोजिएको स्थानको पहिचान भएको छ । मेयर आचार्यले स्थानियको विरोध आउनसक्ने भन्दै स्थान भूमिगत राखेर फोहोर व्यवस्थापन गरिएको स्थानबाट राजनीतिक प्रतिरोध सुरु भएको छ ।

महानगरले पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित दुवारटोल विकास संस्था अन्तर्गत काँसघारीमा फोहोर व्यवस्थापन गर्ने नाममा डम्पिङ साइट बनाएको भन्दै नेकपा एमालेले विरोध शुरु गरेको छ । नेकपा एमाले वडा नम्बर २१ का अध्यक्ष राजेन्द्र थापाले विरोध गर्दै तत्काल रोक्न माग गरेका छन् । उनका अनुसार महानगरले वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जनस्वास्थ्यको समेत ख्याल नगरी वातावरणीय असरलाई वेवास्ता गरेर सो स्थानमा फोहोर गाडिएको हो । फोहोर फालिएको स्थान खोलामा रहेको स्थानियबासीले बताएका छन् । थापाले महानगरको यो कार्यलाई ‘गैरजिम्मेवार र निकृष्ठ कार्य भन्दै’ आलोचना गरेका छन् ।

पोखरा २१ प्राकृतिक सम्पदा, कृषियोग्य जमिन र वस्ती संरचना भएको र जैविक विविधताले समेत संवेदनशिल क्षेत्र रहेका कारण महानगरले अवैज्ञानिक ढंगले फोहोर फाल्ने निर्णय गरेको स्थानीयबासिन्दाको स्वास्थ्य, वातावरण र भविष्यमा समेत गम्भिर नकारात्मक असर परेको थापाले वक्तव्यमा बताएका छन् । महानगरले तत्काल फोहोर फाल्ने विषयमा पुनर्विचार नगरे तत्कालै स्थानिय जनतासहित आन्दोलनमा उत्रने उनको चेतावनी छ ।