काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालले बिरामीको गलत अपरेशन गरेको भन्दै बिरामीका आफन्तले बिरोध जनाएका छन् । धादिङस्थित थाक्रे गाउँपालिका-५ का ७८ वर्षीय लक्ष्मण लामाको प्रोस्टेटको अपरेशन गर्ने क्रममा पेटको समेत अपरेशन गरिएको भन्दै आफन्तले बिरोध जनाएका हुन् ।
उनीहरुले अस्पताल र उपचारमा संलग्न डाक्टरले गम्भीर लापरबाही गरेको आरोप लगाएका छन्। बिरामी लक्ष्मण लामाका छोरा आश्मान लामाका अनुसार ६ महिनाअघि लक्ष्मणको अचानक पिसाब बन्द भएपछि उनलाई धादिङबाट ललितपुरस्थित पाटन अस्पताल लगिएको थियो। अस्पतालमा करिब एक सातासम्म राखी पाइपमार्फत पिसाब खुलाएर अवस्था सामान्य भएपछि घर फर्काइएको थियो ।
तर केही दिनमै पुनः समस्या दोहोरिएपछि परिवारले उनलाई फेरि सोही अस्पतालमा भर्ना गरेका थिए । त्यस समय चिकित्सकले प्रोस्टेटको अपरेशन गर्नुपर्ने बताएको र असोज २१ गतेका लागि अपरेशनको मिति तय गरिएको आश्मानले बताए ।
उनले भने, ‘अपरेशनका लागि पुस १३ गते अर्को मिति दिइएको थियो। तर त्यसबेला पिसाबमा संक्रमण देखिएको भनेर अपरेशन गरिएन । त्यसपछि माघ ५ गते प्रोस्टेटको अपरेशन गर्ने भनेर थिएटरमा लगिएको थियो । तर प्रोस्टेटको अपरेशनसंगै पेटको पनि गरिएको रहेछ ।’
पीडित परिवारका अनुसार शल्यक्रियापछि आइसियुमा सारिएका लक्ष्मणलाई २४ घण्टासम्म होस नआएको उनका छोेरा आश्मानले बताए । प्रोस्टेटको अपरेशनसँगै पेट पनि चिरिएको थाहा पाएपछि डाक्टरलाई सोधेको आश्मानको भनाई छ ।
‘कतै उहाँको किड्नी निकालिएको हो कि? या अरु नै केही गडबडी गरिएको छ? हामीलाई केही थाहा छैन,’ उनले आशंका ब्यक्त गरे ।
‘प्रोस्टेटको अपरेशन गर्न भनेर थिएटरमा लगिएको बिरामीको पेट किन चिरियो? हामीलाई कुनै जानकारी दिइएन । डाक्टरलाई सोध्दा पाइप राख्नका लागि पेट चिरिएको भन्ने जवाफ आयो । हामीले डाक्टरको कुरा पत्यायौँ,’ उनले भने ‘त्यसको दुई दिनपछि पेटको अपरेशन गरिएको स्थानमा इन्फेक्सन भएको भन्दै माघ ७ गते आन्द्राको अपरेशन गरिएको छ । हामीलाई केही जानकारी नै छैन ।’
शरिरमा प्रोस्टेट र आन्द्राको प्रत्यक्ष सम्बन्ध नभए पनि आन्द्रा काटिएको र यसबारे परिवारसंग कुनै सहमति नगरिएको पीडित परिवारको आरोप छ ।
‘७८ वर्षको बुढो शरीरमा दुई वटा मेजर अपरेशन गरिएको छ, त्यो पनि हामीलाई जानकारी नै गराइएन,’ आश्मानले भने । अन्य चिकित्सकहरूसँग परामर्श गर्दा यस्तो शल्यक्रिया जटिल र जोखिमपूर्ण भएको प्रतिक्रिया पाएको उनले बताए ।
‘अन्य डाक्टरहरुले बूढो भइसकेको मान्छे हो, जुनसुकै बेला आन्द्राले काम नगर्न सक्छ । यो केश अलि क्रिटिकल छ भन्नु भयो । यस्तो बिरामीलाई कसरी डिस्जार्ज गर्ने?,’ उनले प्रश्न गरे ।
पीडित परिवारले अस्पताल प्रशासन र सम्बन्धित चिकित्सकसँग भेटघाट गरी स्पष्ट जानकारी माग्दा समेत भेट गर्न नमानेको आरोप लगाएका छन् ।
अस्पतालका निर्देशकलाई भेट्न खोज्दा प्रवेश नदिइएको उनीहरूको भनाइ छ। निवेदन छोडे पछि मात्र आइतबार भेट्ने आश्वासन दिएको आश्मानले बताए ।
पीडित परिवारले हालसम्म करिब ५ लाख रुपैयाँ खर्च भइसकेको बताएको छ। अहिले अस्पतालले बिरामीलाई डिस्चार्ज दिने भन्दै आएको आश्मानले बताए । तर अस्पतालले सत्यतथ्य जानकारी नदिएसम्म डिस्चार्ज नलिने उनले बताउँदै आएका छन् ।
प्रोस्टेटको अपरेशनका क्रममा पेट र आन्द्रामा शल्यक्रिया किन गरियो भन्ने स्पष्ट र चित्तबुझ्दो जवाफ चाहिएको उनको भनाई छ । ‘अपरेशनअघि किन जानकारी र सहमति गरिएन? प्रोस्टेटको अपरेशन गर्ने भनेर किन पेट र आन्द्राको अपरेशन गरियो? यसबारेमा अस्पतालले स्पष्ट जवाफ दिनु पर्छ । हालसम्मको सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्नु पर्छ,’ उनले भने ।
अस्पतालले आफ्नो गल्ती ढाकछोप गर्नको लागि बिरामीलाई डिस्चार्ज गर्न ताकेता गरिरहेको उनले बताए । तर पीडित परिवार भने सत्य तथ्य जानकारी नदिएसम्म बिरामीलाई डिस्चार्ज नगर्ने पक्षमा छन् ।
यस विषयमा पाटन अस्पतालको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।