फेवाताल कार दुर्घटना ‘शंकाष्पद’ : मापसे चालक प्रहरी हिरासतमा, मृतकमाथि मिडिया ट्रायल !

दियोपोस्ट संवाददाता  

कास्की । शनिबार विहान पोखराको हलनचोकबाट सेदि जाने सडकबाट फेवातालमा भएको सवारी दुर्घटना शंकाष्पद र रहस्यमयी देखिएको छ । दुर्घटनाबारे प्रहरी प्रशासनले लापरबाही गरेको र उद्दारमा संलग्न सशस्त्र प्रहरीका उच्च अधिकारीले भ्रम फैलाएको समेत आरोप लागेको छ ।
मदिरा सेवन गरेर लापरबाहीपूर्ण सवारी चलाउने एक उच्च घरानाका पुत्रलाई जोगाउने उद्देश्यले प्रशासनले मृतकलाई नक्कली चलक बनाएर दुष्प्रचार गरेको समेत पाइएको छ । पोखराका स्थानिय मिडियाले घटनाको तथ्यलाई बुझ्दै नबुझी झूटो खबर फैलाएको समेत देखिएको छ ।

मृत्यु भएका अतित गुरुङ सवारी चालक होइनन् तर, पोखराका विभिन्न संचार माध्यमले उनलाई सवारी चालक रहेको भन्दै दुष्प्रचार गरिरहेका छन् । वास्तविक सवारी चालक पोखरा महानगरपालिका वडा नम्बर १६ दिप हाउजिङ घर भएका मिलिन्द तुलाचन हुन् ।

बिएए १५८२ नम्बरको कारका सवारी धनी समेत रहेका चालकका बाबु पोखराको प्रतिष्ठित डाक्टर रहेको समेत खुलेको छ । सवारी चालक तुलाचनका अनुसार उनले पोखरा १८ स्थित भेटभाट रेष्टुरेन्टमा ४ बोतल बियर पिएका थिए । मृतक अतित गुरुङ, घाइते एन्जल गुरुङ र सवारी चालक तुलाचन फेवातालको उत्तर तर्फ भकुण्डेस्थित भेटघाट खाजाघरबाट राती साढे १ बजे लेकसाइड जाने भन्दै निस्किएका थिए । मदिराले लठ्ठिएका तुलाचनलाई एन्जल र उनका साथी अतितले सवारी विस्तारै चलाउन आग्रह समेत गरेका थिए ।

‘गाडी धेरै स्पिड भएपछि हामीले गाडी विस्तारै चलाउन एलर्ट गराएका थियौँ । म पछाडीको सिटमा थिएँ । ड्राइभरको बायाँ सिटमा अतित थिए । गाडी मेलिन्दले चलाएका थिए । एक्कासी गाडी ठोक्किए जस्तो आवाज आयो । म पछाडी सिटमा भएका कारण सिसा फुटेर म निस्किएछु । म पौडी खेल्न नजान्ने भएपनि हात चलाएर केहीबेरपछि किनारमा निस्किएँ,’ हाल पोखरा ९ पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा उपचार गराइ रहेका घाइते एञ्जल गुरुङले भने,‘म बाहिर निस्किएपछि आफ्नो ज्यान बचाउने कसरी भन्ने मात्रै ध्यान भयो । म निस्किँदा अतित र चालक तुलाचन पनि पानीमाथि तैरिइसकेका थिए । मैले गुहार मागेपछि एक जना मानिस कपडा खोलेर पानीमा उद्दारका लागि जान तयार पनि भएका थिए । तर, दलदले हिलो देखेपछि ती व्यक्तिले उद्दार गर्न सकेनन् । म निस्किएको केहीबेरपछि चालक तुलाचन पनि निस्किए ।’

चालककाे लाइसेन्स जहाँ मापसे गरिएकाे लेखिएकाे छ ।

घाइते एञ्जलका अनुसार प्रहरीलाई आफूले पटक पटक तालमाथि अतित तैरिरहेको रहेको विषयमा जानकारी गराएको बताउँछन् । तर, प्रहरीले आफूहरुले उद्दार गर्न नसक्ने र सशस्त्र प्रहरीको गोताखोर आएपछि मात्रै उद्दार गर्न सक्ने बताएपछि आफू र चालक तुलाचनलाई अस्पताल पुर्याइएको एञ्जलले बताए । ‘अहिले मिडियामा ४० मिनेटपछि मात्रै थाहा पाएको भन्ने आइरहेको सुनेँ । त्यस्तो होइन मैले प्रहरीलाई तत्कालै जानकारी गराएको थिएँ । प्रहरीले उद्दार गर्न सक्दैनौँ भन्यो । अनि हामीलाई अस्पताल ल्याए,’ उनले भने ।

यता वडा प्रहरी कार्यालय बैदामको ईन्सपेक्टर मुकुन्द सिग्देलको टोली निकैपछि मात्रै घटनास्थल पुगेको प्रत्यक्षदर्शीले बताए । विहान २ बजेर १० मिनेट जाँदा दुर्घटना भएको सुचना पाएपनि उद्दार गर्ने सशस्त्र प्रहरीको गोताखोरको टाली भने २ घण्टापछि मात्रै पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार सशस्त्रको गोताखोरको टोलीले विहान ४ बजेपछिमात्रै उद्दारको कार्य शुरु गरेको थियो । संचार माध्यमहरुमा आए अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणका गणपति प्रहरी उपरिक्षक (एसपी) वसन्तबहादुर सिंहको कमाण्डमा २१ जनाको गोखोरसहितको टोली घटनास्थल पुगेका थिए । उनै सिंहले अधिकांश संचार माध्यममा मृतकलाई चालक करार गर्दै प्रचार प्रसार गराएका थिए ।

दुर्घटना २ बजेर १० मिनेटमा भएको स्थानियले पटक पटक प्रहरीलाई फोन गर्दा समेत प्रहरी समयमा नआइपुगेको एक प्रत्यक्षदर्शीले बताए । प्रहरी नआएपछि स्थानियले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) नविन कार्कीलाई समेत पटक पटक फोन गरेका थिए । एसपी कार्कीले पनि उद्दारका लागि किन नगएको भन्दै मातहतका प्रहरीलाई सोधेका थिए । ‘दुर्घटनास्थल र वडा प्रहरी कार्यालय वैदामको कार्यालय ७ मिनेटको दूरीमा छ । त्यस्तै सशस्त्र प्रहरीको गोताखोर सहितको गण फोवातालमा २४ घण्टा क्रियाशिल हुन्छ । तर, घटनाको जानकारी पाएको २ घण्टासम्म पनि उद्दारको टोली नपुग्नुले उद्दारकर्ता प्रहरीको लापरबाही देखिन्छ,’ मृतकका आफन्त भन्छन् ।

मृतक अतितकी आमा पार्वति गुरुङले घटना रहस्यमयी रहेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् । बेलुका अन्दाजी ९ बजेर ३० मिनेटमा खाजा खान भनि आफ्नो होटलमा आएका व्यक्तिहरुले आफ्नो छोरालाई गाडीमा हालेर लेकसाइड तर्फ लिएर गएको उनको आरोप छ ।

‘राती ९ः३० बजेतिर खाजा खान भनी आएकोमा निजहरुले मेरो पसलमा प्रति व्यक्ति ३÷४ बोतल गोर्खा स्ट्रोङ्ग बियर पिएका रहेछन् । ९ः३० बजे खाजा खान आएको व्यक्तिहरु २ः०० बजेसम्म त्यसै होटेलमा करीब ४ घण्टासम्म बसेको देखिन्छ । राति अर्थात् बिहानी पख मात्र खाजा खान अर्को होटेल खोज्दै हिडेको भन्ने कुरा स्वभाविक देखिदैन वा पत्यारलायक छैन । यस तथ्यबाट निज विपक्षीहरु दुबै जनाले राति पख मेरो छोरालाई अनुचित प्रभावमा पारी बाहिर लिएर गएको भन्ने प्रष्ट बुझिन्छ । गाडी फेवा तालमा अन्दाजी २ मिटर जति ठाडो भिरबाट खसेको भनेकोमा गाडीे खस्दा गाडीको अगाडीको भाग क्षतिग्रस्त हुनुपर्नेमा अगाडीको भाग र सवारी चालक बस्ने सिट तथा संगैको सिट जस्ताको त्यस्तै हुनु अर्थात् कुनै क्षति पुगेको नदेखिनु, तर पछाडिको भाग कच्याककुचुक हुनु, फेरि पनि पछाडि बसेको भनेको व्यक्ति एन्जल गुरुङ्गको पछाडि ढाड सहित कुनै पनि अंगमा कुनै पनि चोट पटक लागेको नदेखिनु, मेरो छोरा अतित गुरुङ्ग सवारी चालक संगैको बायाँ सिटमा बसेकोमा सो सिट जस्ताको त्यस्तै रहनु र छोराको कुनै पनि अंगमा कुनै चोट पटक लागेको नदेखिनुले घटना रहस्यमय रहेको प्रष्ट बुझिन्छ,’ मृतककी आमा पार्वति गुरुङले जाहेरीमा भनेकी छिन्,‘पानीमा खसेका भनिएका सह अभियुक्तहरुको भनाई अनुसार गाडी फेवा तालको किनारमा खसेकोमा तीनै जना गाडीबाट बाहिर निस्किएको र अतित गुरुङ्गलाई पानीबाट बाहिर निस्किदै गरेको सह अभियुक्त दुबै जनाले देखेको, निजहरुमध्ये एन्जल गुरुङ्गले गुहार गुहार भनी गुहार माग्दा र साथी पानीमा डुबेको छ भनी भन्दा सशस्त्रको प्रहरी आएपछि मात्र निकाल्न मिल्छ, हामीले निकाल्न मिल्दैन भनी अन्य व्यक्तिहरुले भनेको भनी भनेकोमा दुई जना बाहिरिएर जीवित हुन पुग्नु तर पुनः मेरो छोरा अतित गुरुङ्ग मात्र पानीभित्र मृत फेला पर्नु तर निज छोरा फेला परेको स्थानमा पानी घुँडा घुँडासम्म मात्र रहनु, मेरो छोरा माछा मार्ने छालमा परेको, जाल काटेर निकालेको भनी भनेकोमा जालमा परेको मान्छे तालको किनारामा देखेको भनी सहअभियुक्तहरुले घटनाको बारेमा बताउनुले घटना रहस्यमय तथा शंकास्पद रहेको प्रष्ट देखिन्छ ।’

घटना हुनुअघि देखि नै चालक मिलिन्द तुलाचनले मृतक अतित गुरुङलाई व्यापार व्यावसायसँगै गर्न दबाव दिएको तर, अतितले अस्विकार गर्दै आएको समेत आमा पार्वतिको दाबी छ ।

‘अतित गुरुङ्गलाई बिगत १÷२ बर्षदेखि अभियुक्तहरुमध्ये मिलिन्द तुलाचनले संगसंगै व्यापार व्यवसाय गर्न दबाब दिइरहेको र छोराले व्यापार व्यवसाय गर्न इन्कार गरेको कुरा छोरा अतित गुरुङ्गले मलाई बताउने गरेका थिए । मिलिन्द तुलाचन समाजमा प्रतिष्ठित, प्रभावशाली परिवारको व्यक्ति भएको, निजसंग संगत छोड्न वा निजको प्रस्तावलाई ठाडै इन्कार गर्न पनि नसकिने, साथै निजसंगको आर्थिक हैसियत नमिल्ने कारणले निजसंग व्यापार व्यवसाय गर्न पनि नसकिने दोधार स्थितिमा रहेको कुरा छोरा अतितले मलाई बताउने गरेका थिए,’ जाहेरीमा भनिएको छ,‘यसले कतै सोही कुराको भित्रभित्रै मनमुटावको स्थिति रही सोही मनमुटाव कतै यो घटनामा परिणत भएको हो कि भन्ने आशंका पनि पैदा भएको अवस्था छ । साथै घटना पछि पनि घटनालाई वा मुद्दालाई बिषयान्तर हुनेगरी वा कमजोर बनाउने गरी अनलाइन संचार माध्यमको खबरमा मृतक आफै सवारी चालक भनी उल्लेख गरी सूचना प्रवाह गर्नुले पनि वारदातलाई कमजोर बनाउन खोजिएको प्रष्ट देखिन्छ ।’

हाल वडा प्रहरी कार्यालय वैदामको हिरासतमा रहेका मिलिन्दले दुर्घटना हुनुअघि गाडी परिवर्तन गरेको समेत खुलेको छ । जाहेरी अनुसार शुरु शुरुमा मिलिन्दले सेतो रंगको एमजी गाडी चढेर आउने गर्थे । तर, दुर्घटनाको दिन भने मुल्यमा सस्तो पर्ने मारुती सुजुकी कार चढेर आएको जाहेरीमा उल्लेख छ । ‘सवारी चालक मिलिन्द तुलाचनले यसअघि एमजी कम्पनिको सेतो रंगको विद्युतिय सवारी साधन चलाउने गरेका थिए । तर, घटना हुनु एक दुई दिन यता कम सुरक्षित, मुल्यको हिसाबले सस्तो मारुती सुजुकी कम्पनिको गाडी साँझपख लिन आउने गरेको देखिन्छ,’ जाहेरीमा भनिएको छ,‘घटनामा सह अभियुक्त भनिएका एञ्जल गुरुङ्गले गाडीको गति नियन्त्रण गर्न अनुरोध गर्दा समेत नियन्त्रण नगरी गाडी चलाउनु र उनले रहस्यमयी रुपमा गाडी परिवर्तन गर्नुले घटना घटाउने उद्देश्यले मात्रै यो गाडी परिवर्तन गरेका हुन् कि भन्ने देखिन्छ, सो विषयमा पनि विस्तृत र सुक्ष्म अनुसन्धान तहकिकात गरिपाऊँ ।’

 

 

सिफारिस