कास्की । नेपालीमा एउटा उखान निकै चर्चित छ,‘सानालाई ऐन, ठूलालाई चैन’ । साना र गरिवहरुलाई कानुन लगाउने र कारबाही गर्ने तर, ठूलाहरुले कानुनको ठाडो उलंघन गर्दा पनि उन्मुक्ति दिइने भएकै कारण यस्ता उखानहरु समाजमा बनेका होलान् । पोखरा महानगरपालिकामा अहिले नेपाली उखान जस्तै सानालाई कानुन ठूलालाई चैन छ । फेवातालबाट ६५ मिटरको मापदण्ड भित्रका संरचना भत्काउने नाममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाली उखानलाई समेत पछि पारेका छन् । उनले ठूला शक्तिशालीहरुलाई फेवाताल भित्रै संरचना बनाउन अनुमति दिएका छन् भने सडक छेउमा गरिवले टहरा बनाए रातारात भत्काउने र नगरप्रहरी लगाएर ज्यादती गर्दै आएका छन् ।
पोखरा महानगरपालिकाले वडा नम्बर १८ रातोमाटो डाँडामा सोमबार विहानै डोजरसहित नगर प्रहरीको समुह पुग्यो । स्थानिय सुशील गुरुङले बनाउँदै गरेको टहरामा नगर प्रहरीले जबरजस्ती डोजर लगायो ।

उक्त टहरासँगै रहेको भव्य कफि सपलाई भने नगरप्रहरीले नदेखेजस्तो गर्यो । फेवातालको ६५ मिटर मापदण्ड क्षेत्र भित्रको संरचना भन्दै बन्दै गरेको टहरा भत्काएको महानगरपालिकाले सँगै रहेको कफि सपलाई भने नदेखे जस्तो गरिदियो । केही समयपछि अलिकति तल रहेको किशोर दाहालले बनाउँदै गरेको अर्को टहरामा पनि नगर प्रहरीले डोजर लगायो । दाहालको टहराबाट पारीपट्टि रहेको एउटा टहरामा पनि नगरप्रहरीले डोजर लगायो । तर, फेवाताल भित्रै बनिरहेको ठूला रेष्टुरेन्ट र होटललाई भने नगरप्रहरीले नदेखे जस्तो गरि फर्कियो ।

भत्काइएकाे टहरा
टहरा भत्काउन पोखरा महानगरपालिकाका नगरप्रहरी प्रमुख पुरुषोत्तम थापाको नेतृत्वमा नगरप्रहरीसहित नेपाल प्रहरीको भ्यान समेत पुगेको थियो ।
महानगरप्रहरीले टहरा भत्काएपछि पीडित बनेका स्थानिय किशोर दाहालले नगरप्रहरीले आफूलाई सुचना नै नदिई टहरा भत्काएको बताए । ‘मिडियामा बोलेर केही हुँदैन । यहाँ हामीमाथि अन्याय छ । कसैले ६५ मिटर तालघर भित्रै बलियो संरचना सहित होटल र रेष्टुरेन्ट बनाएका छन्,’ उनले भने,‘पूर्वसुचना दिएको भए टहराबाट सामानसम्म हटाउँथ्यौँ ।’

६५ मिटरकाे मापदण्ड भन्दै भत्काइएकाे टहरा र छेउमै रहेकाे ६५ मिटर मापदण्ड भित्रकै अर्काे कफिसप जाे भत्काइएकाे छैन ।
महानगरप्रहरी प्रमुख थापाले स्थानिय संचार माध्यमलाई आफूहरुले ६५ मिटर मापदण्ड भित्रका संरचना भत्काएको बताएका छन् ।
“रातोमाटोमा फेवातालको ६५ मिटर मापदण्डमा पर्ने र सडकमै जोडेर बनाउँदै गरेको र सेदीमा तालघरमा बन्दै गरेका दुई संरचना भत्काएका छौँ” उनले भने, “पटक पटक नबनाउन आग्रह गर्दा पनि रातिको समयमा निर्माण गरेकाले भत्काएका छौँ ।”

नगरप्रहरीले भत्काएकाे अर्काे टहरा
तर, संरक्षणमा ६५ मिटर तालभित्रै बनिरहेको संरचनाहरुमा महानगरपालिकाले रहस्यमयी रुपमा संरक्षण गर्दै आएको छ । ६५ मिटर क्षेत्र भित्रै पर्ने क्याफे क्यालिफोर्नियाले त महानगरपालिकाले नै गाडेको ६५ मिटर छुट्याउने पोल समेत छोपेर रेष्टुरेन्ट निर्माण धमधम गरिरहेको छ । स्रोतका अनुसार यसरी रेष्टुरेन्ट बनाउने ती व्यक्तिहरु मेयर धनराज आचार्यका निकट व्यक्तिहरु हुन् ।

उनकले आफ्ना निकटमात्रै होइन उनको परिवारभित्रैका सदस्यलाई ताल क्षेत्रमा होटल रेष्टुरेन्ट बनाउन छुट दिइरहेका छन् भने सर्वसाधरण जनताले सडकमाथि टहरा बनाउँदा पनि भत्काउँदै आएका छन् ।

कतिपयले त ताल अतिक्रमण नै गरेर रिसोर्ट चलाउँदा समेत मेयर धनराजले संरक्षण गर्दै आएका छन् । खपौँदीस्थित पाल्म विच एण्ड लाउन्जले तालभघरभित्रै दुई तलाको संरचना बनाउँदै छ । तर, महानगरप्रहरीले नदेखेजस्तो गरिरहेको छ ।

६५ मिटरकाे पाेल समेत बाेराले छाेपेर बनाउँदै गरेकाे क्यालिफाेर्निया क्याफे ।
‘नगरप्रहरी मार्फत महानगरका उच्च अधिकारीलाई नजाराना (घुस) बुझाएको भए हामीले पनि टहरा बनाएर गुजारा चलाउन सक्थ्यौँ होला तर, हामी त्यसरी बुझाउन सक्ने मान्छे परेनौँ,’ टहरा भत्काएपछि पीडित भएका एक स्थानियले दियोपोस्टसँग भने,‘महानगरका उच्च अधिकारीलाई ७ लाख रुपैयाँसम्म घुसको दर रेट चलेको छ । हामीले कसरी यत्रो रकम बुझाउन सक्छौँ ।’
तालक्षेत्र भित्रै चलिरहेको मरिना विचलाई पनि महानगरको नगरप्रहरीले देखेको छैन । कोको विचले त तालबाट गाह्रो उठाएरै संरचना बनाएर धमाधम धन्दा गरिरहेको छ तर, महागरपालिकाले नदेखेजस्तो गरिरहेको छ ।