काठमाडौं । काठमाडौं जिल्ला अदालतमा ’बिध म्यानेजमेन्ट प्रालि’ का सञ्चालक ३३ वर्षीय भिमकान्त भण्डारीविरुद्ध बैंकिङ कसुर (चेक अनादर) को मुद्दा दायर भएको छ । सहदेव गौतमको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका तर्फबाट मिति २०८२ फागुन ४ गते अदालतमा अभियोग पत्र पेश गरिएको हो । प्रहरी अनुसन्धानपश्चात् हाल प्रतिवादी भण्डारी फरार रहेको जनाइएको छ ।
जाहेरवाला सहदेव गौतम र प्रतिवादी भिमकान्त भण्डारी (तथा निजको कम्पनी बिध म्यानेजमेन्ट) बीच यसअघि नै अदालतमा लेनदेनको मुद्दा चलिरहेको थियो ।
उक्त ५० लाख रुपैयाँको लेनदेन विवादलाई टुंग्याउन दुवै पक्षबीच मिति २०८२ असार ८ गते सम्झौता भएको थियो ।
सोही सम्झौता बमोजिम ५० लाखमध्ये २५ लाख रुपैयाँ भुक्तानी गर्न भण्डारीले जाहेरवाला गौतमलाई चेक दिएका थिए ।
प्रतिवादी भण्डारीले आफ्नो एकल हस्ताक्षरबाट सञ्चालन हुने ’बिध म्यानेजमेन्ट प्रालि’ को नाममा रहेको नबिल बैंक लिमिटेड, घण्टाघर शाखाको खाता नम्बर १६९०१०१७५०४४५८ को चेक काटेर दिएका थिए ।
मिति २०८२ असार २३ गते भुक्तानी पाउने गरी काटिएको चेक नम्बर ००४८९७०९९२ जाहेरवालाले बैंकमा पेश गर्दा खातामा पर्याप्त रकम थिएन ।
खातामा रकम नभएको कारण देखाउँदै नबिल बैंकले सन् २०२५ को जुलाई महिनाका विभिन्न मितिहरु (०९, ११ र १५ तारिख) मा उक्त चेक बाउन्स (अनादर) गरिदिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ (दोस्रो संशोधन सहित) को दफा १५ को उपदफा (१क) बमोजिम प्रतिवादीलाई कारबाहीको माग गरेको छ ।
हाल दुबईमा लुकेर बस्दै आएका उनीमाथि सुन तस्करी गरेको अभियोग समेत छ । उनीमाथि सीआइबीले अनुसन्धान थालेपछि दुबई लुकेर बसेका थिए । नेपाली कम्युनिस्ट पार्टीबाट गुल्मीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस समेत भएका भण्डारी वर्षमान पुन निकट कार्यकर्ता हुन् ।