फेवातालको शिरमा फोहोर गाड्न पोखराका मेयरको निर्देशन, खाल्डो देखेपछि स्थानिय आन्दोलनमा

दियोपोस्ट संवाददाता  

कास्की । पोखरा महानगरपालिकाले वडा नम्बर २३ र २४ को साँधमा रहेको फेवातालको सिल्ट्रेशन ड्याम नजिकै फोहोर पुर्न लागेको भन्दै स्थानियबासीले विरोध गरेका छन् ।

महानगरपालिकाले जबरजस्ती खाल्डो खनेर फोहोर ल्याउन थालेपछि यतिबेला सो क्षेत्रमा स्थानियबासी जम्मा भएका छन् । ठूलाखेतस्थित सिल्ट्रेसन ड्याम नजिकै रहेको नदिजन्य पदार्थ उत्खनन् गरेर महानगरपालिकाले फोहोर फाल्ने खाल्डो खनेको थियो । स्थानियका अनुसार महानगरपालिकाले खाल्डो खनेकै ठाउँ नजिकै स्थानियबासीको खानेपानीको मुहान छ । त्यस्तै फेवातालमा त्यही पानी बजेर जाने समेत गरेको छ । फेवातालको सिरानमा फोहोर फालेर फेवाताल समेत अतिक्रमण गर्न लागेको भन्दै स्थानियबासीले आन्दोलन शुरु गरेका हुन् ।

यसअघि वडा नम्बर २१ रहेको दुवारटोल नजिकै काँसघारी क्षेत्रमा नदिमै फोहोर गाडिएको थियो । स्थानियबासीले विरोध गरेपनि महानगरपालिकाले नदिमै फोहोर व्यवस्थापन गरेको भिडियोहरुमा देख्न सकिन्छ ।

हाल फोहोर फाल्न खोजिएको स्थान वडा नम्बर २३ र २४ मा महानगरपालिकाले हालसम्म फोहोर उठाउनका लागि गाडी समेत नपठाएर विभेद गर्दै आएको स्थानियबासी बताउँछन् । ‘हामीलाई यसअघि विभेद गरिएको थियो । फोहोर उठाउन गाडी समेत आउँदैन थियो । तर, अहिले पोखरा सहरको फोहोर ल्याएर फेवातालको सिरानमा फाल्न लागिएको छ । हामी त्यसको विरोध गर्दछौँ,’ एक स्थानियले भने ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यमाथि फोहोर व्यवस्थापनमा समेत भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । विशेषगरि उनले फोहोर व्यवस्थापनको नाममा विभिन्न ६ वटा कम्पनिलाई राज्यको ४३ करोड राजश्व छुट दिएर हिनामिना गरेको आरोप छ । त्यस्तै वडा नम्बर ३२ लामेआहालस्थित सेति किनारमा फोहोर पुर्ने खाल्डोमा समेत माटो व्यवस्थापन र खरिदमा २ करोड रुपैयाँ अनियमितता गरेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । वडा नम्बर ३३ स्थित झाँक्री खोलामा निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्रको निर्माणको ठेक्का ३ वर्षअघि गरिएको भएपनि मेयर धनराजकै स्वार्थ गाँसिएपछि अवरुद्ध बन्दै आएको छ ।

स्थानियको जग्गा विचौलियाको नाममा बैनापट्टा गराएर महानगरबाट ५५ लाख रुपैयाँ भुक्तानी गरिदिएको घटनामाथि समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । त्यति मात्रै होइन महानगरपालिकाले बनाएको सानिसा अन्तर्गत रितपूर्वक कागजात नै पेश नगर्ने अयोग्य कम्पनिलाई फोहोर व्यवस्थापनको ठेक्का दिँदा किर्ते गरेको समेत भेटिएको छ । यो विषयमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रलाई समेत लत्याइएको छ ।

सिफारिस