बनेपा, १६ फागुन । आफ्नो सहोदर दाजुको नाममा झुठा विवरण दिएर नेपाली नागरिकता लिएको अभियोगमा काभ्रेपलाञ्चोकको भीमफोरी गाविसका झलकबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई नागरिकता सच्याउन जिल्ला प्रशासन कार्यालय धुलिखेल आएको बेला बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले आज बताउनु भयो ।
आफ्नै दाइ समिर विश्वकर्माको नाम, जन्ममिति राखेर नागरिकता लिएको देखिन्छ उहाँले भन्नुभयो । उनी मलेसिया गएर आएका हुन् । उमेर नपुगेका कारण त्यस्तो नागरिकता बनाएको हुनसक्छ प्रहरीले आशङ्का व्यक्त गरेको छ । २०५१ सालमा जन्मेको जन्मदर्ता भएको झलकबहादुरले आफ्नो दाजुको २०४७ सालको जन्ममितिमा नागरिकता लिएको प्रनाउ केसीले बताउनुभयो । उनलाई नागरिकता ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।