टी.पि शर्मा
काठमाडौं, २० माघ । नियमित खेलाडीहरु सबै म्याच नचल्दा युएईविरुद्धको एकदिवसीय र टी २० सिरिज जित्दा नेपालका युवा खेलाडीहरुले आफूलाई नेपाली क्रिकेटको वर्तमान र भविष्यको ताराको रुपमा उभ्याउन सफल भएका छन् । की ब्याटिङ मात्रै की बलिङमात्रैको अवस्थामा नेपाली क्रिकेट सधैं रहँदा आवश्यक नतिजा आउन सकेको थिएन । नेपाली क्रिकेट टोलीमा आशालाग्दा र उम्दा युवा खेलाडीको प्रवेश सुरु भएसँगै नेपालले दबाबयुक्त खेलमा पनि नतिजा आफ्नो पक्षमा पार्न थालेको छ । यस्तै शैली र खेल कौशल देखाउन सक्दा नेपाली क्रिकेट स्वर्ण युगमा मात्रै प्रवेश गर्नेछैन, यिनै खेलाडीले नेपालीको अनुहारमा खुशीका रेखा कोर्ने दिन पनि टाढा छैन । किनकी १६ देखि १८ र २० वर्षसम्मका यी खेलाडीले आफूलाई अहिलेदेखि नै उम्दा स्टारका रुपमा स्थापित गराउन खोजिसकेका छन् । यी दुई सिरिजमा पारस बाहेक युवा खेलाडीहरुले नै काँध थाप्दा नेपालले महत्वपूर्ण र ऐतिहासिक दुई सिरिज एकदिवसीय र टी २० जित्न पुग्यो ।
एकदिवसीय र टी २० को सिरिजका तीनतीनवटा खेल हुँदा दुवैमा पहिलो म्याच हारेर पनि नेपालले हार खाएन । दुवै सिरिजमा लगातार दुई म्याच जितेपछि नेपाली क्रिकेट टिमले दुईवटै म्याच जित्दै दुवैमा २–१ को नतिजा निकाल्दै आफ्नो पहिलो सिरिजमा कब्जा जमायो ।
अलराउन्डर सोमपाल कामी, लेग ब्रेक गुग्ली बलर सन्दीप लामिछाने, अलराउन्डर करन केसी, युवा खेलाडीत्रय रोहित पौडेल, सन्दीप जोरा, ललित राजवंशी र अविनाश बोहोराले आफूलाई प्रमाणित गरका छन् । अर्का खेलाडी दिपेन्द्रसिंह ऐरीले पनि आफूलाई प्रमाणित गरेका छन् । आरिफ शेख, पवन सर्राफ र ललित राजवंशी पनि नेपाली टिमलाई महत्वपूर्ण योगदान गरेर माथि लान सक्ने खेलाडीका रुपाम आफूलाई उभ्याए । फरकफरक खेलमा फरकफरक खेलाडी चल्नु भनेको सबैमा क्षमता छ भन्ने देखिनु हो । एकदिवसीयमा सोमपाल, सन्दीप र रोहित चले । टी २० मा दिपेन्द्र, अविनाश, करन र राजवंशी चले ।
कतिसम्म भने दुईवटै सिरिजमा नेपाली टिम पहिलो खेल हार्नुका बाबजुद पनि युवा खेलाडीको भरोसायुक्त खेलबाट लगातार दुई खेल जित्दै सिरिज नै जित्न सफल भयो । डेब्यु खेलमैं २१ वर्षे अविनाश बोहोरा टी २० सिरिजको उत्कृष्ट खेलाडी घोषित भए । उनले ३ म्याचमा महत्वपूर्ण विकेट लिन सफल भए ।
नियमित खेलाडीहरु पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी नचल्दा पनि र शरद भेषवाकर, शक्ति गौचनजस्ता अनुभवी खेलाडीले नखेल्दा पनि पछिल्ला केही वर्ष युवा खेलाडीहरुले नेपाललाई महत्वपूर्ण खेलमा नतिजा दिलाएका छन् । त्यो हिजो एकदिवसीय मान्यता पाउनका लागि खुट्किलो रुपमा रहेको क्यानडाविरुद्ध जित्दा होस् की अहिले दुवैवटा सिरिज जित्दा होस् युवा खेलाडीहरुले बलिङ, ब्याटिङ र फिल्डिङमा आफूलाई उम्दा र भरोसायुक्त खेलाडीका रुपमा उभ्याएका छन् ।
पारस र ज्ञानेन्द्र : नयाँलाई सिकाउ र अवसर देउ
अब नेपाली क्रिकेटमा नयाँ खेलाडी सम्भावना बोकेर उभिंदै गर्दा पारस र ज्ञानेन्द्रहरुले विस्तारै नयाँ नयाँ खेलाडीलाई टिममा अवसर दिंदै जानुपर्छ । किनकी यिनीहरुले पनि महत्वपूर्ण खेलमा नेपाललाई अमूल्य योगदान दिइसकेर आफ्नो अमूल्य समय नेपाली क्रिकेटलाई दिइसकेका छन् । अब चढ्दो उमेरका यी खेलाडीले आफूले खेल्दै गर्दा नयाँ खेलाडीलाई निरन्तर खेलाएर टिममा सेट गर्नुपर्छ । यिनीहरुले एकैपटक छोड्दा नेपाली क्रिकेटमा संकट आउन सक्छ । यसकारण सक्रिय हुँदै गर्दा नयाँ नयाँलाई अवसर दिने र पुराना खेलाडीहरुले विस्तारै विश्राम लिंदै जाँदा नेपाली क्रिकेटमा करन केसीबाहेक अरु खेलाडीहरु १७ देखि २३ वर्षसम्मका छन् । सम्भावना बोकेको युवा खेलाडीको वर्चस्व भएकोले यिनीहरुले झन् राम्रो नतिजा दिन सक्नेछन् । राम्रा ब्याटसम्यान बन्न सक्ने भीम सार्कीले यी दुवै सिरिज खेल्न पाएनन् । सार्की पनि ब्याटिङ र फिल्डिङमा उस्तै गरी जम्न सक्ने खेलाडी हुन् । विभिन्न लिगमा उनले देखाएको प्रदर्शनले यही भन्छ ।
युवा खेलाडीको योगदान : च्याम्पियनको जस्तो
पहिलो खेलमा ब्याटिङ
युएईविरुद्ध ३ विकेटले हारेको सिरिजको पहिलो खेलमा नेपाल ११३ रनमैं समेटिएको थियो । जसमा सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिएका थिए । उनीपछि दोस्रो बढी रन बनाउनेको सुचीमा आरिफ शेख थिए । उनले १५ रनको योगदान गरे । पारस खड्काले २० रन बनाउँदा चौथो बढी रन बनाउनेमा सन्दिप देखिए । पुछारमा आएका उनको ब्याटबाट १५ रन निस्कियो ।
पहिलो खेलमा बलिङ
बलिङतर्फ करन, सन्दीप र पारसले समान दुई दुई विकेट लिंदा सोमपालले १ विकेट लिए ।
नेपाली बलरले ११४ रन पछ्याएको युएईलाई पनि आच्छुआच्छु पारेका थिए । ३२.१ ओभरमा सात विकेट गुमाएर युएईले जित निकालेको थियो । ७० रन हुँदा हुँदा सात विकेट गुमाउँदा खेल नेपालको पक्षतिर ढल्किन खोजेको थियो । तर, युएईका पुछारका खेलाडी सम्हालिंदा नेपाल जितविहीन बन्न पुग्यो ।
दोस्रोमा फराकिलो जित निकाल्दा
पहिलो एकदिवसीय हारेपछि दोस्रो दिन नेपालले टस जितेर अविश्वसनीय रुपमा पहिले ब्याटिङ गर्ने निर्णय गर्यो । जसमा नेपालले १४५ रनको फराकिलो जित दर्ता गर्न सफल भयो । युवा खेलाडी रोहित कुमार पौडेलले विश्वरेकर्ड नै कायम गरे । सबैभन्दा कम उमेरमा अर्धशतक हानेर भारतका सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको रेकर्ड तोड्दा पौडेलले ५८ बलमा ५५ रन बनाए । सो खेलमा पनि सिनियर खेलाडीहरुमा ज्ञानेन्द्र मल्लले ४४ रन बनाउनुबाहेक अरु खेलाडी चल्न सकेनन् । आरिफ शेखले २९, करन केसीले १८ र सन्दीप लामिछानेले १४ रनको योगदान गर्दा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २४२ रन बनायो ।
बलिङमा चम्किदा फराकिलो जित
२४३ रनको लक्ष्य पछ्याएको युएईको लागि सोमपाल र सन्दीप घातक सावित भए । सोमपालले ६.३ ओभरमा ३३ रन दिएर ५ विकेट लिए । जुन एकदिवसीय खेल खेल्दा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीको रेकर्ड हो । सन्दीपले पनि चार ओभरमा २४ रन दिएर ४ विकेट आफ्नो नाममा लेखाए । दुई खेलाडीको घातक बलिङका सामू युएई १९.३ ओभरमा ९७ रनमा समेटिंदा १४५ रनको फराकिलो हार बेहोर्न बाध्य भयो । यो खेलमा पनि युवाहरुले जोश र जाँगरले काम गर्दा नेपालले नतिजा आफ्नो पोल्टामा पारेको देखिन्छ ।
तेस्रो एकदिवसीय युवा खेलाडीले नै जिताए
तेस्रो एवं निर्णायक एकदिवसीयमा नेपालले पहिले बलिङ गर्दा २५ ओभरमा जम्मा ६३ रन दिएर खेल आफ्नो तर्फ पारिसकेको थियो । तर, अर्को २५ ओभरमा युएई २५४ रनसम्म पुग्दा नेपालले खेल हार्नेतिर धकेलिएको थियो । किनकी २५० भन्दा बढी रन पछ्याएर नेपाल विजयी भएको थिएन । तर, नेपालले सुरुवातदेखि नै सुझबुझपूर्ण ब्याटिङ गर्दै आफूलाई चाहिने ५ रन हाराहारीको रनरेटमा खेलिरह्यो । कप्तान पारस खड्काले १०९ बलमा ११५ रनको शतकीय पारी खेल्दा नेपालले ओडिआइ सिरिज जित्ने महत्वपूर्ण आधार तय गर्यो । तर, पारस छैटौं विकेटको रुपमा आउट भएपछि बल धेरै बाँकी भए पनि नेपालले नजित्ने हो की भन्ने आशंका भने हटेको थिएन ।
तर, आरिफ शेख र सोमपाल कामीले फेरि सुझबुझपूर्ण ब्याटिङको नमूना पेश गरे । आरिफले २१ र सोमपालले २६ रन नटआउट खेल्दा नेपालले चार विकेटको जितसँगै पहिलोपटक एकदिवसीय सिरिज हात पार्यो । पारस आउट भए पनि सोमपाल र आरिफले निर्धक्क भएर नहडबडाइकन खेल्दा नेपालले जितको कोसेढुंगा मात्र पार गरेन । युवा खेलाडीहरुले आफूहरुमाथि पनि म्याच जिताउने तागत र जितको भोक रहेको देखाइदिए । पारसले जितको आधार तय गरेको खेलमा यी दुई खेलाडीले फाइनल टच दिए । ६ रन आवश्यक हँुदा सोमपालले छक्का हिर्काउँदै ४४.४ ओभरमैं खेल जिताइदिए । यो खेलमा पनि करन केसीले २, सोमपाल कामीले १, सन्दीपले १ र पारसले २ विकेट लिए ।
टी २० मा उस्तै आशा
३१ जनवरीमा पहिलो टी २० खेल्दा नेपाल २१ रनले पराजित हुन पुग्यो । हारेको यो खेलमा पनि नेपालका अर्का युवा खेलाडीले भरोसा देखाए । १५४ रनको लक्ष्य पछ्याउँदा अरु कुनै खेलाडी चल्न नसक्दा सन्दीप जोराले आफ्नो डेब्यु खेलमैं अर्धकशतक मात्रै बनाएनन् । डेब्युमैं अर्धशतक बनाउँने सबैभन्दा कम उमेरको खेलाडीमा आफ्नो नाम लेखाए । ४६ बलमा ५३ रनको योगदान दिए पनि उनले जिताउन सकेनन् । किनकी खेलमा अरु ब्याटसम्यान चलेनन् । सोमपालको २७ र पारसको २५ रन उच्च हुन पुग्यो । बलिङमा सन्दीपले २, वसन्त रेग्मीले २ र सोमपाल कामीले एक विकेट लिए । अर्का युवा खेलाडी अविनाश बोहोराले पनि डेब्यु खेलमैं एक विकेट लिए ।
सिरिजमा दिपेन्द्रले आशा जगाए
एकदिवसीयदेखि टी २० को सिरिज अन्तर्गत दोस्रो खेलमा आशा देखाउनमा फेरि अर्का युवा खेलाडी सतहमा आए । युएईले पहिलो टी २० जितेकोले दोस्रोमा नजिते अन्तिम खेल अगाडि नै नेपालले सिरिज गुमाउँने थियो । यस्तोमा १०८ रन पछ्याउँदासमेत नेपाल धर्मरायो । तर, धर्मराएको नेपाली इनिङलाई दिपेन्द्रसिंह ऐरीले काँध थापे । प्रदीप ऐरी ८ रन, पारस खड्का पहिलो बलमैं शुन्य रन, करन केसी २० रन, ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए पनि दिपेन्द्रले फाइट गर्न छोडेनन् । ४६ रन हुँदा ५ विकेट गुमाएर थोरै लक्ष्यमा पनि नेपाल चुक्न खोज्दा दिपेन्द्रसिंह ऐरी र पवन सर्राफले गज्जवको तालमेल देखाउँदा नेपालले तीन बल अगावै खेल जित्यो । ऐरीले ४१ बलमा ४७ रन बनाए । यो खेल नेपालले चार विकेटले जित्यो ।
युएईलाई कम योगफलमा रोक्नका लागि बलिङमा अर्का खेलाडी उदाए । ती थिए अविनाश बोहोरा । उनले चार ओभरमा २० रन दिएर ३ विकेट लिए । सोमपाल करन र सन्दीपले समान दुई दुई विकेट लिन सफल भए । बलिङ र ब्याटिङतर्फ युवा खेलाडीकै बलमा नेपालले खेल जित्यो । र सिरिजमा आशा कायम राखिराख्यो ।
तेस्रोमा उस्तै सानदार जित
फाइनल जत्तिकै मानिएको तेस्रो खेल वर्षाका कारण १० ओभरमा झारियो । जसमा युएईले टस जितेर नेपाललाई ब्याटिङमा निम्त्यायो । जसमा पारस खड्का २९ बाहेक सन्दिप जोरा २८, विनोद भण्डारी २१, करन केसीले १० र ज्ञानेन्द्र मल्लले ११ रन बनाउँदा नेपालले ८ विकेट गुमाएर १०४ रन बनायो ।
१०५ रन पछ्याएको युएईले सन्दीप लामिछानेको पहिलो ओभरमैं २० रन हानेर जित टाढा नभएको संकेत देखायो । तर, दोस्रो ओभरमा सोमपाल कामीले विकेट लिएर खेलमा फर्काउने कोसिस गरे । पाँचौ ओभरमा अविनाश बोहोराले खतरानाक देखिएका घुलाम शब्बिरलाई २५ रनमा बोल्ड आउट गराए । पहिलो ओभरमा २० रन खाएर अत्तालिएका सन्दीपले छैटौं ओभरमा मात्रै तीन रन दिएर महम्मद उसमानको महत्वपूर्ण विकेट लिए ।
आठौं ओभरमा करन केसीले दुई विकेट लिंदा खेल नेपालको पक्षमा पार्न महत्वपूर्ण योगदान गरे । नवौं ओभरमा बोहोराले महम्मद बोटालाई ज्ञानेन्द्र मल्लको निक्कै अविश्वसनीय क्याचबाट आउट गराए । युएईलाई २० रन चाहिएको बेला अन्तिम १० औं ओभरको पहिलो र दोस्रो बलमा ललित राजवंशीले विकेट लिंदै जम्मा पाँच रन दिंदा नेपालले १४ रनको जितमात्र दर्ता गरेन पहिलोपटक टी २० सिरिजमाथि नै कब्जा जमायो ।
पारसको आक्रामक २९ रन र ज्ञानेन्द्रको ३ वटा खतरानक क्याचआउट बाहेक खेलमा महत्वपूर्ण योगदान पुर्याउनेमा युवा खेलाडीहरु नै देखिए । यसरी दुईवटा सिरिजमा युवा खेलाडीहरुमा देखिएको जितको भोक, संयमता र आक्रामकताले नेपाली क्रिकेटमा युवाहरुमाथि भरोसा गर्ने दिन आएको देखिएको छ । यिनै युवा खेलाडीहरु हाम्रा चम्किला तारामात्र होइनन् नेपालीको अनुहारमा खुशीका रेखा कोर्ने र नेपालीलाई जोड्ने आशाका केन्द्र पनि हुन् । दुवै सिरिज जितेर नेपाली समर्थकको अनुहारमा खुशीको चमक ल्याउँने खेलाडीहरुलाई हार्दिक बधाई ।