
काठमाडौँ, फागुन ७ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ ।
यस वर्ष पनि दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवस मूल समारोह समितिले मङ्गलबार ८ बजे सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहनेछ ।
प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको छ । दिवसकै अवसरमा सञ्चार मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापा माध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसंवाद, अन्तक्र्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ ।
प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाल टेलिभिजन र रेडियो नेपालबाट फागुन ७ गते सैनिक मञ्च, टँुडिखेलमा आयोजना हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र अन्य टेलिभिजनले त्यसलाई लिन सक्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।
समृद्ध नेपाल निर्माण गर्न सबै अग्रसर हुनुपर्छः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा उपराष्ट्रपतिले दिएको शुभकामना सन्देशमा नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरङ्कुश जहानियाँ राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गौरवपूर्ण र अविस्मरणीय दिनमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
राजनीतिक सङ्क्रमण अन्त्य भई देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ भन्दै उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपालको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै समृद्ध नेपाल निर्माण गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् ।
उनन्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताए ।
वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।