
काठमाडाै । द हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार पाकिस्तानको बालाकोटमामा चरमपन्थी जैश-ए-मोहम्मदको तालिम केन्द्रमा मङ्गलवार बिहान भएको भारतीय वायुसेनाको आक्रमणको समयबारे सात जनालाई मात्र थाहा थियो।
बिहान तीन बजेर ४० मिनेटदेखि ५३ मिनेटसम्म भएको हमलामा मिराज लडाकु विमान प्रयोग भएको पत्रिकाले लेखेको छ।
भारत प्रशासित कश्मीरको पुलवामामा सुरक्षाकर्मीमाथि भएको आत्मघाती आक्रमणपछि भारतले पक्कै पनि कुनै कारबाही गर्ने ठानिएको थियो।
को हुन् ती सातजना?
भारतको गुप्तचर निकाय ‘र’ लाई चरमपन्थीको शिविर निश्चित गर्ने जिम्मेवारी दिइएको थियो। ‘र’ ले त्यस्ता छवटा शिविरबारे जानकारी दियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हवाई आक्रमणको निम्ति १८ फेब्रुअरीमै अनुमति दिइसकेका थिए। गुप्तचर निकायका अधिकारीहरूका अनुसार उक्त हमलाको समयबारे सातजना व्यक्तिलाई मात्र थियो।
जसमा प्रधानमन्त्री मोदी, उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, स्थलसेना, वायुसेना, नौसेना, इन्टेलिजेन्स ब्यूरो तथा ‘र’ का प्रमुख छन्।
पाकिस्तानी सेनालाई भ्रममा पार्न भनेर भारतीय वायुसेनाले २२ फेब्रुअरीदेखि नै सीमानजिकै रहेका हवाई आधारमा आफ्ना लडाकु विमानको उडान राति गराउन थालेको थियो।
त्यसको तीन दिनपछि जासुसी निकायबाट बालाकोटस्थित शिविरमा जैश-ए-मोहम्मदका तीन सयदेखि साढे तीन सयजना चरमपन्थी रहेको सूचना आयो। त्यसपछि वायुसेनालाई अघि बढ्ने सङ्केत दिइयो।
टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको बालाकोटमा भारतीय आक्रमणपछि पाकिस्तानले जबाफी कारबाही गर्ने आशङ्कालाई दृष्टिगत गर्दै दिल्ली, मुम्बई र अन्य पाँच स्थानलाई आउँदो ७२ घण्टाको निम्ति उच्च सतर्कताको अवस्थामा राखिएको छ। पत्रिकाले सूत्रलाई उद्धृत गर्दै तीमध्ये पन्जाब, राजस्थान र गुजरात रहेको उल्लेख गरेको छ।
पन्जाबको गुरदासपुर, तरनतारन, अमृतसर, फिरोजपुर र फजिल्कामा पनि स्थानीय प्रशासनले सङ्कटको सामना गर्ने तयारी सुरु गरेको छ।
गुजरातका मुख्यमन्त्री विजय रुपाणीले मङ्गलवार एन्टी टेरोरिस्ट स्क्वाड र गुप्तचर संस्थाका अधिकारीहरूसँग बैठक गरेर अवस्थाको समीक्षा गरेको समाचारमा उल्लेख छ।
(बीबीसी हिन्दीबाट)