उपमेयरबाट चरित्रहत्याको प्रयास भयो : मेयर दाहाल

दियोपोस्ट संवाददाता

काठमाडौं, फागुन १६ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उपमेयर पार्वती शाहले चरित्रहत्याको प्रयास गरेको बताएकी छिन् । उपमेयर शाहले काठमाडौंमा पत्रकार सम्मेलन नै गरी असन्तुष्टि राखेपछि मेयर दाहालले पनि भरतपुरमा पत्रकार सम्मेलन गरी चरित्रहत्या गर्ने प्रयास गरिएको बताएकी हुन् । दाहालले उपमेयरले भनेको व्यक्ति (भतिजी) ले जागिर नपाउँदा अहिलेको विवाद देखिएको बताइन् । ‘उहाँले भतिजीलाई जागिर लगाउन कार्यकारी प्रमुखलाई भनेकामा कार्यकारीले नटेरेपछि उपमेयर खनिएकी हुन्,’ दाहालले भनिन् ।

पत्रकार सम्मेलनमा महानगरका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले आफूले अपमान हुने गरी कुनै अभिव्यक्ति नदिएको र व्यवहार नगरेकाले माफी माग्ने कारण नरहेको बताए । उपमेयरले अनेक बहाना बनाए पनि भतिजीलाई प्राविधिक क्षेत्रमा जागिर नदिएकै कारण घटना बाहिर आएकोे महानगरका कर्मचारी बताउँछन् । दोषारोपण र मिडियाबाजी गरेर कोही पनि उम्कन नसक्ने मेयर दाहाललेध बताइन् ।

उनले भनिन्, ‘लेखा समितिलगायत समिति गठन सम्बन्धमा स्थानीय सरकार सञ्चालन ‌ऐन–२०७४ को दफा २२ मा ‘नगरसभाले आफ्नो कार्यप्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाई कुनै सदस्यको संयोजकत्वमा लेखा समिति, विधायन समिति, सुशासन समितिलगायत आवश्यकताअनुसार अन्य समिति र विशेष समिति गठन गर्न सक्नेछ’ भन्ने उल्लेख छ । सोहीअनुसार गरेका छौँ ।’ नयाँपत्रिका दैनिकबाट

सम्बन्धित खबर