काठमाडौं,२३ माघ । बालुवाटार जग्गा काण्डमा मुछिएका १ सय ७५ जना विरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बालुवाटार जग्गाकाण्डमा मुछिएका भिआइपी पूर्व मन्त्रीदेखि अर्बपति व्यापारी र नातागोता यो काण्डमा मुछिएपछि चौतर्फी चर्चा परिचर्चा भएको छ ।
बालुवाटार जग्गाकाण्डमा खर्बपति व्यापारी सुहृदराज घिमिरेले आफ्नी सासु र व्यावसायीक साझेदार पुरुषोत्तम पौडेल मार्फत जग्गा बेच विखनको धन्दा चलाए । उनको नाममा अख्तियारले मुद्दा नचलाएपनि उनकी सासु आमा र व्यावसायीक साझेदार पुरुषोत्तम पौडेलको नाममा भने अख्तियारले मुद्दा दायर गरेको छ ।
घिमिरेले आफ्नी सासु मार्फत राजधानीको मुटु मानिने बालुवाटार स्थित बहुचर्चित ललिता निवासको १३ रोपनी सरकारी जग्गा हत्याएका थिए । त्यति मात्रै होइन उनले सासुलाई प्रयोग गरेर सरकारी जग्गा बैंकमा धितो राखेर करोडौं ऋण लिएको खुलेको छ । उनकी सासुले सोही जग्गा धितोमा राखी इन्भेष्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ निकालेको देखिन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको डिल्लीबजार मालपोत कार्यालयको लिखत अनुसार प्रति आना ५० हजारमै खरिद गरिएको देखाइएको उक्त जग्गा घिमिरेले आफ्नी सासु हुँदै व्यापारिक साझेदार भनिएका पुरुषोत्तम पौडेलको नाममा लुकाएको थिए ।
विवादित व्यापारी तथा बालुवाटार जग्गा प्रकरणका प्रमुख अभियुक्त मिन बहादुर गुरुङ, बालुवाटार जग्गाकाण्डमा फरार अभियुक्तहरु रामकुमार सुवेदी र शोभाकान्त ढकालको मिलेमतोमा घिमिरले सासु आमा र व्यापारिक साझेदार पुरुषोत्तम पौडेलको नाममा ललिता निवासको जग्गा हत्याएका थिए ।
२०६३ मंसिर १३ गते नै घिमिरेकी सासु इन्दु शर्माको नाममा दुई पटक बालुवाटार क्षेत्रको सरकारी जग्गा राजिनामा पास भएको रेकर्डमा देखिन्छ ।
उक्त जग्गा लिखत अनुसार भाटभटेनीका मालिक समेत रहेका मिनबहादुर गुरुङ र कामना गुरुङको संयुक्त नाममा रहेको १२ आना दुई दाम जग्गा घिमिरेकी सासु इन्दु शर्माको नाममा पास भएको देखिन्छ ।
इन्दुको नाममा पास भएको उक्त जग्गाको मुल्य भने ६ लाख २५ हजार रुपैयाँ मात्रै उल्लेख छ । हिसाब गर्दा प्रति आना ५० हजार रुपैयाँ मात्रै पर्न आउँछ ।
राज्यलाई बुझाउनुपर्ने कर छली गर्नकै लागि कम मुल्य गरेर विक्री गरिएको देखिन्छ । उक्त जग्गा राजिनामा पास गरिएको कागजातमा बालुवाटार जग्गा बेचविखनका प्रमुख अभियुक्त मध्येकै रामकुमार सुवेदी र शोभाकान्त ढकाल साक्षी बसेका छन् ।
उनीहरु विरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन मुद्दा चलाएको छ । बालुवाटार क्षेत्रमा २०६३ सालमा प्रति आना १५ लाख रुपैयाँ भन्दा बढी मुल्य पर्ने जग्गा घिमिरेले भने ५० हजारमै हत्याएको देखिँदा उनीहरुमाथि राजश्व छलीको अनुसन्धान समेत हुनुपर्ने हो ।
इन्दु शर्माकै नाममा २०६३ मंसिर १३ गते नै अर्को जग्गा राजिनामा पास भएको रेकर्डमा देखिन्छ ।
इन्द्रदेव गुरुङको नामबाट कित्ता नम्बरहरु १९, २०, २१ र २२ का करिब १४ आना २ पैसा १ दाम जग्गा इन्दु शर्माको नाममा पास भएको देखिन्छ । उनले उक्त जग्गा पनि ७ लाख २८ हजार २ सय रुपैयाँमै पाएको देखिन्छ । उक्त लिखतमा पनि भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदी नै साक्षी बसेका छन् ।
२०६३ माघ २५ गते नै इन्दु शर्माको नाममा भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङ र उनका छोरा कल्याण गुरुङको नाममा रहेको जग्गा राजिनामा पास भएको छ । लिखत अनुसार गुरुङ परिवारले घिमिरेकी सास इन्दु घिमिरेलाई १३ आना जग्गा ६ लाख ८७ हजार ५ सय रुपैयाँमा विक्री गरेको देखिन्छ ।
इन्दु शर्माकै स्वामित्वमा रहेको अधिकांश जग्गाहरु किनबेच समेत भइरहेको पाइन्छ । रेकर्ड अनुसार व्यापारी घिमिरेकै कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेजका साझेदार समेत रहेका पुरुषोत्तम पौडेलको नाममा जग्गा राजिनामा पास भएको छ । साझेदार भनिएका पौडेलको कम्पनि रजिष्टार कार्यालयको रेकर्डमा भने साक्षीको रुपमा देखिएको छ ।
२०६३ साल मंसिर १३ गते नै इन्दु शर्माको नाममा रहेको कित्ता नम्बरहरु ९२,९५, ९६ र ९७ का १ रोपनी आठ आना जग्गा कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज व्यापारिक साझेदार पुरुषोत्तम पौड्याललाई विक्री गरेको रेकर्डमा देखिन्छ । उक्त जग्गा भने एक लाख २५ हजार प्रति आनाका दरले कुल ३० लाख रुपैयाँमा विक्री गरिएको छ ।
अहिले ललितानिवास परिसरमा इन्दु शर्माकै नाममा करिब ३ रोपनी जग्गा रहेको छ । हाल इन्दुको नाममा ललितानिवासभित्र कित्ता नम्बर ७२, ७३, ७६, १९, २१, १०५, १०७, १०९ र १११ गरी ९ वटा कित्ता जग्गा रहेको छ । यी सबै जग्गाको क्षेत्रफल जोड्दा करिब ४२ आना जग्गा इन्दु शर्माकै नाममा रहेको छ । बाँकी जग्गा भने घिमिरेले ससुरा तिर्थराज शर्माको नाममा पनि राखेको बताइन्छ । ससुरा तिर्थराज शर्मालाई भने अख्तियारले मुद्दा चलाएको छैन ।
यद्धपी पौडेल र घिमिरेकी सासु आमा इन्दु शर्मालाई भने मुद्दा चलाएको छ । पौडेलले सोही इन्दु शर्माबाटै राजिनामा पास भएको जग्गा धितो राखेर २६ करोडभन्दा बढी रकम निकालेका छन् ।
अख्तियारले घिमिरेकी सासु इन्दु शर्माको नाम ४३ नम्बरमा राखेको छ । जसमा उनीहरुको नाममा रहेको जग्गा सरकारले जफत गर्ने उल्लेख छ ।
त्यस्तै पौडेलको नाममा रहको जग्गा पनि जफत गर्न अख्तियारले सिफारिस गरेको छ ।
घिमिरे नै इन्भेष्टमेन्ट बैंकका अध्यक्षको पार्टनर !
बालुवाटारको सरकारी जग्गा धितो राखेर सबैभन्दा बढी प्रवाहा गर्ने बैंक हो–नेपाल इन्भेष्टमेन्ट बैंक । ईन्भेष्टमेन्ट बैंकले मात्रै एक अरब भन्दा बढी ऋण प्रवाहा गरेको छ । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे राजधानीको ठमेल स्थित कमलपोखरी कब्जा गरेर बनेको छायाँदेवी कम्प्लेक्सका समेत अध्यक्ष हुन् ।
बालुवाटार जग्गा सासु मार्फत धन्दा चलाउने घिमिरे भने छायाँदेवी कम्प्लेक्समा निर्देशक छन् । उनले श्रीमती र सासुकै नाममा शेयर खरिद गरेका हुन् ।