ओमनसँग नेपाल लगातार दोस्रो पटक पराजित, अकिबको शानदार सतक

दियो पोस्ट  

काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर १६ बल बाँकी रहदै पुरा गर्यो ।

ओमानको जितमा अकिब इलासले अविजित रहदै १ सय ९ रनको शतकीय इनिङ्स खेले । उनले १ सय ८ बलमा १२ चौका र १ छक्का प्रहार गरे । उनले १०२ बलमा शतक पुरा गरेका थिए ।

अकिबको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो ।

यस्तै कप्तान जिशन मक्सुदले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै खवर अलीले ४१ रन जोड्दा जितेन्दर सिंहले २३ रन बनाए ।

नेपालका सुशन भारी र कुशल मल्लले १÷१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यस्तै पारस खड्काले ३८ रन जोड्दा विनोद भण्डारीले ३५ रन बनाए । आरिफ शेख र कुशल मल्ल समान २८÷२८ रनमा आउट भए । ओपनर सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए ।

दिपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए । डेब्यु खेलाडी कमल सिंह ऐरी ९ रनमा अविजित रहे ।

ओमानका लागि अकिब इलासले ४ विकेट लिए । मोहमद नदीमले ३ विकेट लिए ।

यससँगै नेपाल ओमानसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । यस अघि पहिलो खेलमा नेपाल ओमानसँग १८ रन पराजित भएको थियो ।