
दियोपोस्ट संवाददाता
सल्यान, २९ पुस । सल्यानबाट दाङ तर्फ आउँदै गरेको नेपाली सेनाको गाडी दुर्घटना भएको छ । सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी नेपाली सेनाका जमदार यादव प्रसाद धरेलको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरी चौकी कपुरकोटका प्रहरी नायव निरिक्षक दत्त मल्लको नेतृत्वमा खटिएको टोलीले सुचना पाएको ५ मिनेट भित्रै उद्दारमा खटिएको थियो । उनीहरुले अन्य घाइतेको भने सकुशल उद्दार गरेका छन् । गम्भिर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

सात जना सवार रहेको उक्त गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो । स्रोतका अनुसार गाडी निकै पुरानो समेत थियो । गाडी चालकले उक्त गाडी थोत्रो भएको विषयमा पटक पटक कुरा उठाउँदा पनि सुनुवाई भएको थिएन ।
दुर्घटनाका घाइतेहरुमा मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हवल्दार जय प्रकाश बोहरा मोहन थापा, विशाल गुरुङ रहेका थिए ।
