खोलामै स्क्याभेटर लगाएर मलेखु खोला दोहन, अवैध क्रसर रोक्न धादिङका सिडिओ असफल ! (भिडियोसहित)

दियो पोस्ट  

धादिङ, १२ फागुन । धादिङको बेनिघाट रोराङ–२ ताल्ती स्थित खानी खोलामा अवैध रुपमा विगत लामो समयदेखि क्रसर सञ्चालन भएपनि प्रशासनले रोक्न सकेको छैन ।


जिल्लाका उच्च राजनीतिक नेतृत्वको समलग्नतामा सञ्चालित युनाइटेड क्रसर उद्योगले खोलामै दुई वटा स्क्याभेटरले दोहन गर्दा समेत धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले केही गर्न सकेका छैनन् ।


गत कार्तिकमा दियोपोस्ट डटकम लगायत अन्य सञ्चार माध्यमले यस विषयमा खबर छापेपछि प्रमुख जिल्ला अधिकारी तामाङ जिल्ला समन्वय समितिका प्रमुख जगननाथ नेपाल अनुगमन गर्न गएका थिए । नाम मात्रैको अनुगमन गरेको भन्दै स्थानियबासीले विरोध गरेका थिए ।
‘अहिले त मलेखु खोलामै स्क्याभेटर लगाएर खोला दोहन हुँदा समेत प्रशासन मौन बसिरहेको छ,’ एक स्थानियबासीले भने,‘समाचार छापिएको आधारमा मंसिर ६ गते सिडिओ साप गाडीको लस्कर लिएर आउनु भएको थियो । तर, त्यो सबै नाटक मात्रै रहेछ । उहाँले रोक्न सक्नु भएन । यहाँ त खुलमखुल्ला प्रकृतिमाथि लुट छ ।’

बेनिघाट रोराङ गाउँपालिकाले आफ्नो कार्यक्षेत्र बाहिर गएर युनाइटेड क्रसर उद्योगलाई २०७५ साल कार्तिक २० गते देखि नै सञ्चालनका लागि अनुमति दिइएको थियो । बेनिघाट रोराङ गाउँपालिका २ ताल्ती स्थित मलेखु खोलामा निर्माणाधिन ह्वासिन सिमेन्ट नारायणी प्रालीमा समेत कार्यरत रोल्पा लिवाङ घर भएका डिल्लीराज पोखरेल र स्थानिय राजनीतिक नेतृत्वको आफन्तद्वारा सञ्चालित उक्त क्रसर सिमेन्ट उद्योग नजिकै सञ्चालित छ ।


युनाइटेड सिमेन्ट उद्योगले खोला दोहन गरेर जम्मा गरिएको निर्माण सामग्री नजिकै रहेको ह्वासिन नारायणी सिमेन्ट प्रा.लीमा बेच्ने गरेको छ ।

संसदको सार्वजनिक लेखा समितिले उक्त उद्योगले करिब डेढ सय रोपनी सार्वजनिक जग्गा अवैध रुपमा हडपेको निष्कर्श निकाल्दै गाउँपालिकाले गरेको भाडा सम्झौता नै खारेज गर्न निर्देशन दिएको थियो ।

यो पनि पढ्नुहोस्

खानीखोलामा अवैध क्रसर : मापदण्ड विपरित खोलाकै बगरमा मेसिन चल्दा धादिङ प्रशासन मौन !

खानीखोलामा सञ्चालित युनाइटेड क्रसर उद्योगमा धादिङका सिडिओको छापा, सञ्चालक फरार !