खानीखोलामा अवैध क्रसर : मापदण्ड विपरित खोलाकै बगरमा मेसिन चल्दा धादिङ प्रशासन मौन !

खानीखोलामा अवैध क्रसर : मापदण्ड विपरित खोलाकै बगरमा मेसिन चल्दा धादिङ प्रशासन मौन !

दियोपोस्ट संवाददाता,


धादिङ, २७ कार्तिक । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको मिलेमतोमा वडा नम्बर २ ताल्ती स्थित खानीखोलामा अवैध रुपमा क्रसर सञ्चालन भएको पाइएको छ । जिल्ला स्थित सरकारी निकायबाट अनुमति बन्द गरिएपनि गाउँपालिकाकै मिलेमतोमा क्रसर खोल्ने अनुमति समेत दिइएको पाइएको छ ।


गाउँपालिकाले कानुन विपरित युनाइटेड क्रसर उद्योगलाई २०७५ साल कार्तिक २० गते देखि नै सञ्चालनका लागि अनुमति दिइएको पाइएको छ । बेनिघाट रोराङ गाउँपालिका २ ताल्ती स्थित मलेखु खोलामा निर्माणाधिन ह्वासिन सिमेन्ट नारायणी प्रालीमा समेत कार्यरत रोल्पा लिवाङ घर भएका डिल्लीराज पोखरेल र स्थानिय राजनीतिक नेतृत्वको आफन्तद्वारा सञ्चालित उक्त क्रसर सिमेन्ट उद्योग नजिकै सञ्चालित छ ।


स्थानियबासीका अनुसार क्रसरले खानी खोलाको बगरमै जेनेरेटर राखेर अवैध रुपमा खोला दोहन गरिरहँदा समेत स्थानिय प्रशासन मौन छ ।


बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टंक थापाका छोरा तुलसी जंग थापाकी श्रीमतीको नाममा रहेको ६ रोपनी ३ आना जग्गा भाडामा लिएको छ ।


क्रसर उद्योग सञ्चालन (घरेलु तथा साना उद्योग विभाग, कार्याविधि दिग्दर्शन २०७२ अनुसार क्रसर उद्योग सञ्चालनका आइई प्रतिवेदन पेश गर्नुपर्ने भएता पनि उक्त उद्योगले आइई प्रतिवेदन समेत पेश नगरेको पाइएको छ ।


कार्याविधि अनुसार घना वस्ती १००० वा सो भन्दा बढी जनसंख्या वा २०० वा सो भन्दा बढी घरधुरी एकै ठाउँमा केन्द्रित भै बसोबास गरिरहेको क्षेत्रबाट कम्तिमा २ कि. मि. पर उद्योग स्थापना गर्नु पर्ने छ ।


त्यस्तै क्रशर मेशिन राखिएको स्थानबाट कम्तिमा १०० फिटको रेडियसको जग्गा उद्योगले प्रयोग गर्ने व्यवस्था गर्नु पर्ने हुन्छ । यसको लागि नापीकार्यालयबाट प्रमाणित नक्सामा २०० फिट लम्वाई र २०० फिट चौडाईको एउटै चक्लाको जग्गा उपलब्ध गरेको हुनु प्र्रावधान भएता पनि उक्त उद्योगले सबै प्रक्रिया नै लत्याएको पाइएको छ ।

साथै क्रसर उद्योग राजमार्गबाट ५०० मिटर , खोला किनाराबाट ५०० मि. शिक्षण संस्थाबाट २ कि.मि, स्वास्थ्य संस्थाबाट २ कि.मि. , धार्मिक ,सास्ंकृतिक र पुराताक्तिवक महत्वका स्थानबाट २ कि.मि, सुरक्षा निकायबाट २ कि.मि. वन, निकुञ्ज र आरक्षणबाट २ कि.मि., र घनावस्तीबाट २ कि.मि. टाढा हुनुपर्ने प्रावधान छ । तर, उद्योगले भने खानीखोलाको बगरमै उद्योग सञ्चालन गरिरहँदा समेत जिल्ला प्रशासन कार्यालय मौन छ ।


क्रसर सञ्चालनका लागि जग्गा भाडामा लिने सम्बन्धी सम्झौतामा वडाध्यक्षकी बुहारी अम्बिका खड्का प्रथम पक्षबाट र दोस्रो पक्ष तथा उद्योगको तर्फबाट भने समिर अधिकारी र डिल्लीराज पोखरेलले हस्ताक्षेर गरेका छन् ।


साक्षीमा भने वडाध्यक्षकै छोरा तुलसीजंग थापाले हस्ताक्षेर गरेका छन् । उद्योगको तर्फबाट हस्ताक्षेर गर्ने समिर गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी र प्रदेश ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जम्मकट्टेलको प्रतिनिधि रहेको एक स्थानियबासीले बताए ।


जिल्ला स्थित घरेलु विकास कार्यालयले २०६६ साल देखि कुनै पनि क्रसर उद्योगको नविकरण गरेको छैन । नयाँ उद्योग दर्ता समेत नभएको अवस्थामा गाउँपालिकाले किन क्रसर खोल्ने अनुमति दियो ? भन्ने विषयमा समेत छानबीन हुनुपर्ने स्थानीयबासीको भनाई छ ।


जिल्लामा विभिन्न निकायबाट अनुमति प्राप्त गरी २ वटा बालुवा खानी, ५० वटा क्रसर उद्योग एवं ७३ वटा बालुवा प्रशोधन उद्योगहरु दर्ता रहेका छन् । तर केही बाहेक अधिकांश उद्योगहरु मापदण्ड अनुसार चलेका छैनन् ।


खानीखोलमा अवैध क्रसर सञ्चालन भइरहेको विषयमा धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तामाङलाई सम्पर्क गर्दा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले फोन उठाए । ‘यस विषयमा मैले बुझेको छैन । कहिले दर्ता भएको त्यो पनि थाहा छैन । सिडिओ साप नै अनुगम समितिमा हुनुहुन्छ । उहाँ आएपछि नै कुरा गर्नुहोला,’ उनले दियोपोस्टसँग भने ।


हामीले अवैध क्रसर सञ्चालनका विषयमा प्रतिक्रिया लिनका लागि युनाइटेड क्रसर उद्योगका सञ्चालक डिल्लीराज पोखरेलसँग सम्पर्क गरेका थियौँ ।

उनले आफूहरुले आइइ प्रतिवेदन बुझाएको बताए । खोलाको बगरमै क्रसर सञ्चालन नगरेको भन्दै उनले व्यक्तिको जग्गामा सञ्चालन गरेको दाबी गरे ।

‘त्यो ठाउँमा कुनै स्पेस छैन । यो छोटो समयका लागि हो,’ पोखरेलले भने,‘अस्थायी प्रयोजनको लागि उद्योगले उद्योग भित्र मात्रै प्रयोग गर्ने हो ।’ उनले क्रसरको स्पष्ट कानुन नभएको समेत बताए । प्रदेशमा कानुन बनिरहेका कारण देशै भरी विकास निर्माणमा समस्या भएको पोखरेलले बताए ।

अवैध रुपमा सञ्चालित क्रसरको भिडियो

Trending News