दियोपोस्ट विरुद्ध अल्फा बिटाका मालिक द्विराज शर्माले दायर गरेको मुद्दा खारेज !

दियो पोस्ट  

काठमाडौं, १९ माघ । दियोपोस्ट डटकम विरुद्ध दायर गरिएको गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसुर सम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंले खारेज गरेको छ ।


जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद शर्माको इजलाशले गत मंसिर १८ गते यस्तो फैसला गरेको हो ।


झापाको सरुंगा घर भएका काठमाडौंको नयाँ वानेश्वरस्थित अल्फा बिटा एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्ने द्विराज शर्मा शिवाकोटीले दियो मिडियाका अध्यक्ष तथा प्रधानसम्पाक सुदीप विश्वकर्मा र दियो मिडियाद्वारा प्रकाशित दियोपोस्ट डटकम विरुद्ध मुद्दा दायर गरेका थिए ।


दियोपोस्टमा प्रकाशित समाचारले आफ्नो गोपनियता तथा प्रतिष्ठा भंग भएको भन्दै उनले गत वर्ष २०७६ साउन १९ गते जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । आफू विगत ३० वर्षदेखि निरन्तर कलेज लगायत शिक्षासँग सम्बन्धीत रहेर क्रियाशिल रहेको र आफू विरुद्ध दियोपोस्टले समाचार लेखेको भन्दै उनले जिल्ला अदालतमा मुद्दा हालेका हुन् । उनको विषयमा प्रकाशित समाचारको दियोपोस्ट डटकमले खण्डन समेत प्रकाशित गरिदिएपनि उनी जिल्ला अदालतमा मुद्दा हाल्न पुगेका थिए ।


‘प्रस्तुत मुद्दामा इन्साफ गर्ने गरी निर्णय गर्नुपर्ने सम्मको अवस्था नदेखिएकाले प्रस्तुत मुद्दा मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ८६ (३) बमोजिम खारेज हुने ठहर्छ,’ जिल्ला अदालतको फैसलाको पूर्णपाठमा भनिएको छ ।

TATA ADD