ओली समुहको आमसभामा भारतीय नागरिक समेत : घट्टेकुलोको मेडिकल कलेजमा भोज !

दियोपोस्ट संवाददाता


काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले शुक्रबार राजधानीको दरबारमार्गमा भव्य आम सभा सम्पन्न गर्यो । वागमति प्रदेशले आयोजना गरिएको भनेको आमसभामा ओली समुहका प्रदेश ईन्चार्ज आनन्द पोखरेलले सञ्चालन गरेका थिए ।


३ लाख मानिसलाई उपस्थित गराउने घोषणा गरेको आम सभा नेपालको ईतिहासमै ठूलो भएको प्रधानमन्त्री ओलीले भाषणमै बताए । तर, आमसभामा अपेक्षित संख्याको मानिस भने उपस्थित नभएको सहभागीहरुले नै बताएका छन् ।


वागमती प्रदेश कमिटिको मात्रै भनिएको उक्त कार्यक्रमबारे नयाँ तथ्य फेला परेको छ । ओली नेतृत्वको नेकपाको सभामा भारतीय नागरिक समेत हजारौँको संख्यामा उपस्थित रहेको तथ्य भेटिएको हो ।


ओली समुहका वीरगन्जका नेता बसरुद्धिन अन्सारीले विहारबाट हजारौँ नागरिकलाई काठमाडौं ल्याएको खुलेको हो । काठमाडौंको आमसभाका लागि आएका उनीहरु आज विहान ६ बजे राजधानीको घट्टेकुलोमा रहेको काठमाडौं नेश्नल मेडिकल कलेजमा राखिएको स्रोतले जनाएको छ ।
‘उनीहरु विहान ६ बजे आएका थिए । सबैजना हिन्दी मात्रै बोल्थे । आफूलाई विहारी बताउँथे,’ स्रोतले भन्यो,‘उनीहरुलाई पशुपतिमा दर्शन गर्न भनेर ल्याइएको हो । त्यसअघि नै ओलीको सभामा पुर्याइएको हो ।’

स्रोतले दिएको जानकारीलाई पछ्याउँदै दियोपोस्टको टोली काठमाडौंको घट्टेकुलोमा रहेको नेश्नल मेडिकल कलेजमा पुगेको थियो । त्यहाँ पुग्दा भारतीय नागरिकहरु गाडी चढेर हिडिसकेको सुरक्षा गार्डले बताए ।

‘उनीहरु त विहान ६ बजे नै आएका थिए । खाना खाएर ओलीको सभामा पुगे । अनि आएर फेरी खाना खाए । २ पटक खाना खाएपछि गाडी चढेर गए,’ ती सुरक्षा गार्डले भने ।

कोही आउँछ भने नआउ भनिँदैन, आए होलान् :आनन्द पोखरेल


तर, कार्यक्रम सञ्चालक तथा नेकपा ओली समुहका नेता आनन्द पोखरेलले विहारका नागरिक आमसभामा आएको भन्ने विषय वाइयात रहेको बताए ।


यद्धपी २ नम्बर प्रदेशबाट सभामा आएको विषयमा भने उनले हुन सक्ने बताए । ‘उहाँहरु आउनुभयो होला । प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम हो । तर हाम्रो बागमती प्रदेशको कार्यक्रम हो । कोही आउँछ भने नआउ भनिँदैन,’ विहारबाट आएको विषयमा प्रश्न गर्दा उनले भने,‘वाइयात प्रश्न नसोध्नुस् । नेपालमा भएका मान्छे राख्ने ठाउँ छैन । यो हामीलाई अपमान गर्न र बद्नाम गर्न उठाएको प्रश्न हो । तपाईंले पनि त्यहीबाट प्रेरित भएर प्रश्न सोधेको हो ?’


जवाफ दिन उत्तरदायी हुनुपर्ने पोखरेलले प्रश्न नै नगर्न भन्दै धम्की दिए ।

‘मलाई वाइयात प्रश्न नगर्नुस् । सोलिडारिटी व्यक्त गर्न नजिकका साथीहरु आउनुभो होला । हामी पनि जान्छौँ । बागमती प्रदेशले आयोजना गरेको हो । १३ जिल्लाको सहभागीता छ,’ उनले भने,‘काठमाडौं उपत्यकाको सबैभन्दा धेरै हुनुहुन्छ ।’


काठमाडौंको घट्टेकुलोमा रहेको काठमाडौं नेश्नल मेडिकल कलेजमा विहारी नागरिक बसेको विषयमा प्रश्न गर्दा उनले ‘वाइयात कुरो र बद्नाम गर्न रचिएको षडयन्त्रको’ संज्ञा दिए ।


‘यो अपराधपूर्ण प्रचार हो । कोही गए होलान् कसैको तिर्थ यात्रामा । तर वाइयात कुरा हो,’ उनले भने,‘आगामी दिनमा यस्तो प्रश्न नगर्नुहोला ।’


घट्टेकुलोमा रहेको यो मेडिकल कलेजमा शंकाष्पद कालोधन लगानी रहेको भन्दै विभिन्न सञ्चार माध्यममा खबर आएको थियो ।

सम्बन्धित खबर

सिफारिस