जसपा फूटको संघारमा : सके पार्टी कब्जा गर्ने नसके पार्टी बाबुरामको तयारी !

diyopost.com
दियो पोस्ट  बुधबार, माघ २६, २०७८ | १०:१७:५७

काठमाडौँ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पु¥याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ । आज प्रकाशित कान्तिपुर दैनिकमा मधु शाहीले खबर लेखेकी छिन् ।

 

अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, त्यो नमाने बहुमत सदस्यको अधिकार प्रयोग गरेर बैठक बस्ने तयारी रहेको भट्टराई पक्षीय एक नेताले बताए । ‘सकेसम्म ५१ प्रतिशत पु¥याएर जसपा कब्जा गर्ने हो,’ ती नेताले भने, ‘त्यो नभए अर्को पार्टी गठन हुन्छ ।’ ती नेताले पार्टी विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकताको प्रयास हुने पनि जानकारी दिए । ‘भट्टराईजी र लोसपाका नेताबीच छलफल र भेटघाट भइरहेको छ,’ उनले भने ।

 

जसपामा दुई पक्षबीच पहिलेदेखि नै तिक्तता रहे पनि राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ का हेमराज राई पराजित भएपछि भट्टराई पक्ष झन् ैचिढिएको भएको हो । राईलाई यादव पक्षले मत नदिएको भट्टराई पक्षको दाबी छ । यादवले पार्टी निर्णयबिना प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनमा मोहम्मद खालिद सिद्धिकीलाई टिकट दिएको पनि भट्टराई पक्षको आरोप छ । भट्टराई पक्षका एक केन्द्रीय सदस्यले एक साताभित्र केन्द्रीय समिति बैठक नभए बहुमतका आधारमा पार्टीको नेतृत्व भट्टराईले गर्ने दाबी गरे ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले यादवको कार्यशैली ‘तानाशाही प्रवृत्ति’ को भएकाले मान्य नहुने बताए । उनले पार्टीभित्र सामूहिक नेतृत्वको मुद्दा उठेको जानकारी दिए । ‘पार्टीमा तीन अध्यक्ष व्यवस्था गर्नुपर्ने र त्यसमा क्लस्टरअनुसार आदिवासी,

खस आर्य र मधेसीलाई समेट्नुपर्ने माग छ,’ उनले भने । यादव पक्षले भने तीन ‘क्लस्टर’ भित्रै धेरै क्लस्टर भएकाले तीन अध्यक्ष रहने प्रणालीमा जान नहुने तर्क गरेको छ । ‘सामूहिक नेतृत्व प्रणाली असफल भइसक्यो,’ यादव पक्षका एक नेताले भने । नेता राईले पार्टीको विधानमै एउटा संघीय परिषद् अध्यक्ष र दुईवटा कार्यकारी अध्यक्ष पद रहेकाले तिनलाई कायम गर्नुपर्ने बताए । ‘यसमा खासगरी उपेन्द्र यादवले चासो देखाउनु भएन,’ उनले भने, ‘अन्तिमसम्म प्रयास गर्छौं । सकेसम्म मिलाउने नै हो ।’

 

यादव पक्षधर नेता रामसहायप्रसाद यादवले आवश्यकताअनुसार बैठक बस्ने उल्लेख गर्दै अहिले जरुरी नभएर केन्द्रीय समिति बैठक नबोलाइएको बताए । ‘पार्टीमा कुनै पनि किसिमको विवाद र मनमुटाव छैन,’ उनले भने, ‘कसैले बैठक बस्ने पनि भनेका छैनन्, अध्यक्षज्यूले कसरी बैठक राख्ने ?’

यादव नेतृत्वको संघीय समाजवादी पार्टी र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकीकरण भएर समाजवादी पार्टी बनेको थियो । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाख १० मा एकीकरण भएर जसपा बनेको हो । जसपाबाट पाँच महिनाअघि महन्थ ठाकुर नेतृत्वको समूह अलग भइसकेको छ ।

सम्बन्धित खबर