काठमाडौं । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ।
टाइम्स अफ इन्डियाका अनुसार लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएका गान्धीलाई शुक्रबार लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको हो।
गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए। यसअघि बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो।
गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।
उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए।
सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको छ भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको छ।