देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन । सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा सहमति हुन नसकिरहेको बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन । माओवादी केन्द्रसँग सोही बिषयलाइ लिएर सरकार सञ्चालन सबन्धि सहमति पनि लगभग भंग भएको जनाइएको छ ।

आज बिहान १० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो।

केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि भनिएको छ। बैठकका अजेन्डाका विषयमा भने खुलाइएको छैन।

मुख्यसचिव पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यलाई पठाएको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज २०८० माघ २३ गते मंगलबारका दिन बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।