सहकारीको सम्पत्ति विभिन्न व्यक्तिको नाममा लुकाएपछि सुरेन्द्र भण्डारीमाथि सरकारको छानबीन

दियो पोस्ट डेस्क  

काठमाडौं । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले अन्ततः समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सहकारी विभागको सिफारिसको आधारमा समस्याग्रस्त घोषणा गरेको हो ।

मन्त्रालयले सम्पत्ति व्यस्थापन तथा दायित्व भुक्तानीको लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको विज्ञप्तिमा उल्लेख गरेको छ । अर्थात यसअघि सुधीर बस्नेत नेतृत्वको ओरेन्टल बहुउद्देश्यीय सहकारीकै हालतमा लालीगुराँस बहुउद्देश्यीय सहकारी पुगेको छ । सहकारी विभागमा ५० जना भन्दा बढी बचतकर्ताले उजुरी गरेपनि विभागमा छानबीन निकै सुस्त भएको थियो । विभागकै ढिलासुस्तीका कारण अब यो सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन निकै कठिन बनेको छ ।

बचतकर्ताको रकमबाट सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीका विभिन्न निजि कम्पनि र घरजग्गामा लगानी रहेको तथा सहकारीको रकम दुरुपयोग भएको विषयमा दियोपोस्टले २०७६ साल साउनदेखि समाचार प्रकाशन आरम्भ गरेको थियो । सहकारी विभाग, प्रहरी लगायत निकायमात्रै होइन राजनीतिक नेतृत्व समेतमा सेटिङ्ग गर्ने भण्डारीले आफूमाथिको छानबीन रोक्न निकै शक्ति लगाएका थिए ।

सहकारी विभागको पछिल्लो छानबीनमा पनि भण्डारीको सेटिङ्ग रहेको स्रोत बताउँछ । उनले आफूमाथि प्रहरी छानबीन नगराउन शक्ति केन्द्रको दबाव दिएका थिए । त्यसैको प्रभावले विभागको सिफारिसका आधारमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको छ । जबकी अन्य सहकारीलाई भने प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीमा छानबीनका लागि पठाइएको थियो । नेकपा एमालेका पूवै सांसद समेत रहेका ईच्छाराज तामाङ्ग नेतृत्वको सिभिल बहुउद्देश्यीय सहकारीमाथि छानबीन गर्न विभागले प्रहरीलाई पत्राचार गरेको थियो । विभागकै पत्रका आधारमा सिआइबीले छानबीन गरि प्रहरीले तामाङ्गसहित उनकी पत्नि लगायतमाथि मुद्दा लगाएको थियो ।

त्यतिमात्रै होइन देशभर शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारीका संचालक केदारनाथ शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरि मुद्दा चलाएको थियो । यता पोखराको सुर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी लगायत दर्जनौँ सहकारी खोली बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको अभियोगमा ग्यालेक्सी टेलिभिजनका मालिक गितेन्द्र बाबु राई विरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनीमाथि पनि कास्की प्रहरीले मुद्दा चलाएको छ ।

यता सुमेरु सहकारीका अध्यक्ष भरत महर्जन लगायत विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । उनीहरु सबै सहकारीमाथि प्रहरीले कारबाही गरेपनि श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको हकमा विभागले मन्त्रालयलाई सिफारिस गरेर समस्याग्रस्त घोषणा गर्न उक्साएको छ ।

जबकी यतिबेला सहकारीका संचालक सुरेन्द्र भण्डारीले सबै सहकारीको सम्पत्ति तथा भवनहरु विभिन्न व्यक्तिको नाममा लुकाइसकेका छन् । उनले देशकै विभिन्न शक्तिशालीहरुको नाममा घर तथा सम्पत्तिहरु राखेको विशेष स्रोतले जनाएको छ । पुल्चोकस्थित यसअघि जय लालीगुराँस भवन लेखिएको भवन सुटुक्क अन्य व्यक्तिको नाममा पास गरिएको छ । त्यस्तै गायक रामकृष्ण ढकालको लिलाम पछि सकारेको करोडौँको भवन एक जना तत्कालिन मन्त्रीको नाममा सारिएको छ ।

प्रवक्ता भन्छन्,‘प्रहरीमा यो सहकारीको छानबीन हुँदैन’

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता सहसचिव गणेश भट्टले अन्य सहकारीका जस्तो श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमाथि प्रहरीले छानबीन नगर्ने बताए । थप समस्या नहोस् भनेर मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको उनले बताए । समितिले अनुसन्धान गरि सहकारीको सम्पत्ति र ऋण पत्ता लगाउने र शिल गर्ने उनको भनाई छ ।