एआइजी श्याम ज्ञवालीको झूटको पर्दाफास : सुन तस्करीमा फरार चलाउनेसँग यस्तो साँठगाँठ !

दियो पोस्ट  

काठमाडौं । सुन तस्करी अभियोगमा फरार सुचीमा रहेका जिमी ग्रुपका प्रबन्ध निर्देशक जिवन चलाउनेसँग नेपाल प्रहरीका उच्च अधिकारीको बाक्लो सम्पर्क र कनेक्सन देखिएको छ । अवकाशको मुखमा रहेका नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक एआइजी श्यामलाल ज्ञवाली र विमानस्थल प्रमुखको रुपमा कार्यरत प्रहरी नायव महानिरिक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीको निकै बाक्लो सम्पर्क देखिएको हो ।

६० किलो सुन तस्करी प्रकरणमा फरार रहेका चलाउनेले केहीदिन अघि नेपाल प्रहरीका एआइजी ज्ञवालीले आफूसँग आइजीपी बन्नका लागि एक करोड रुपैयाँ मागेको खुलाशा गरेका थिए । ज्ञवालीले चलाउनेसँग आफ्नो चिनजान नै नभएको बयान दिएका थिए । तर, तथ्यहरुले ज्ञवालीको सम्पर्क भएको देखिएको छ । दियोपोस्टलाई प्राप्त कल डिटेल्स र सिडिआर रिपोर्टमा ज्ञवालीको बाक्लो सम्पर्क देखिएको हो ।

चलाउनेले आफ्नो मोबाइल नम्बरबाट एआईजी ज्ञवालीको मोबाइल नम्बर ९८५१२८०३८२मा एकपटक कुराकानी गरेको देखिएको छ ।

चलाउनेले आफ्नो मोबाइल नम्बरबाट एआइजी ज्ञवालीको मोबाइल नम्बरमा २०८० असार १८ गते रातको ८ः३० मा करिब २ मिनेट कुराकानी भएको पाइएको छ । तर, ज्ञवाली भने आफ्नो कुराकानी नै नभएको दाबी गर्दै आएका छन् । केहीदिन अघि चलाउनेले दिएको बयानमा १ करोड रुपैयाँ मागेको बताएका थिए ।

अवकाशको मुखमा रहेका ज्ञवालीको तस्करीका अभियुक्तसँग यसरी कुराकानी र बार्गेनिङ्ग नै भएको विषय सार्वजनिक हुँदा समेत उनीमाथि कुनै कारबाही सरकारले गरेको छैन । तर, सुन तस्करी सम्बन्धी उच्चस्तरिय आयोगले भने ज्ञवालीको नाम समेत उल्लेख गर्न चाहेको छैन । चलाउनेसँग सबैभन्दा बढी सम्पर्कमा रहेका हाल पर्सामा रहेका एसपी कुमोद ढुंगेलबारे पनि समितिले हालसम्म केही बोलेको छैन । तर, ढुंगेलले नै चलाउनेलाई सिआइबीबाट बयान दिएर भगाउन भूमिका खेलेको र तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पुलको काम गरेको आरोप छ ।

ज्ञवाली विरुद्ध गृहमन्त्रालय र संसदीय समितिमा उजुरी

सुन तस्करीका अभियुक्त जीवन चलाउनेसँग निकट सम्पर्क देखिएका नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवाली विरुद्ध गृहमन्त्रालय र संसदको राज्य व्यवस्था समितिमा कारबाहीका लागि उजुरी परेको छ । ओखलढुंगा घर भएका दिनेश पौडेलले उजुरी दिएका हुन् । उजुरीमा ज्ञवाली र चलाउनेबीच मिटरब्याजको कारोबार हुने गरेको उल्लेख छ । ज्ञवालीका सहोदर दाई समेत रहेका पूर्व आइजीपी ठाकुर प्रसाद ज्ञवालीले चलाउनेलाई मिटर ब्याज लगाउनकै लागि एक करोड रुपैयाँ दिएको समेत उजुरीमा उल्लेख छ । सोही पैसा फिर्ता नदिएको झोँकमा एआइजी ज्ञवालीले चलाउनेमाथि प्रतिशोध साँधेको आरोप छ । चलाउनेले विभिन्न २ वटा नम्बर मार्फत ज्ञवालीसँग सम्पर्क गरेको उजुरीमा उल्लेख छ । ह्वाट्स एप समेतलाई नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा ल्याब परिक्षण गरिपाउँन उजुरकर्ताले माग गरेका छन् ।

को हुन् चलाउने ?

जिमि ग्रुप नाामक कम्पनि मार्फत नेपालमा रोयल भोग नामक कम्पनि चलाउँदै आएका चलाउने व्यावसायी सुशिल थापाका पार्टनर हुन् । थापा नेपालकै लोकप्रीय नयाँ पत्रिका दैनिकका कार्यकारी निर्देशक हुन् । उनै थापाको स्वामित्व रहेको जिमि समुहले नेपालमा रोयल भोग चामल आयात र विक्री गर्दै आएको छ । थापामाथि यसअघि नै १८ करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल खडा गरेर राज्यलाई ठगी गरेको आरोप छ । त्यस्तै अनामनगरको विजुलीबजार नजिकै एक व्यक्तिको करोडौँको घर सेटिङ्गमा हत्याएको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।