काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभा बैठकमा ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भनेर धारणा राखेकामा क्षमा याचना गरेका छन् ।
आज बसेको बैठकको सुरुमै बोल्दै सांसद घिमिरेले आफूले राखेको उक्त धारणा पार्टीगत नभई व्यक्तिगत रहेको स्पष्ट पार्दै कसैको मानहानी भएको खण्डमा क्षमा मागेका हुन् ।
घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने प्रस्ताव राखेका थिए । ‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन्। पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन्। यसले मुलुकको आर्थिक संमृद्धिका लागि योगदान पुग्छ,’ घिमिरेले भनेका थिए। तर, संसददेखि पार्टीमै विरोध हुन थालेपछि उनले माफी मागेका हुन् ।