काे हुन् शेरबहादुर देउवा ?

दियो पोस्ट  

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उनी बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै अाएका छन्।

बाल्यकालदेखि नै राजनीतिक चासो गर्ने  देउवा पार्टी संस्थापक नेता विपी कोइरालाको राजनीतिक प्रेरणाबाट राजनीतिमा होमिनुभएक थिए । विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट सक्रिय नेपाली राजनीतिमा प्रवेश गरेका उनी प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा हाेमीदै नेपाल विद्यार्थी सङ्घका प्रथम सभापति बनेका थिए ।

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका थिए । देउवा एक छोराका पिता हुन्। उनकी श्रीमति  डा आरजु पनि अहिले व्यवस्थापिका–सांसद् छिन् ।

नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा क्षेत्रं १ र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले गृहमन्त्री र पटक–पटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको बनिसकेका व्यक्ति हुन् ।

विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी काँग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए। विसं २०५९ मा दोस्रो पटक प्रधानमन्त्री बनेका देउवा त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बनेका थिए।

काँग्रेसको विभाजनपछि उनी नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति बनेका थिए । काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता बने ।

उहाँ विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष बने । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसङ्घका प्रथम सभापति हुन् र सुदूरपश्चिममा काँग्रेसका प्रभावशाली व्यक्तित्व मानिन्छन् ।