भुल्न नसक्ने त्याे शिवरात्री

diyopost.com
दियो पोस्ट  मंगलबार, फाल्गुण २५, २०७२ | २:५४:५०

आज महाशिवरात्रि, हिन्दू धर्मालम्बीको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व । नेपाली सेनाको स्थापना दिवस । आज टुँडिखेलमा धुमधामसँग सेना दिवस मनाइयो । पशुपतिनाथको मन्दिरमा धर्मालम्बीको विशाल घुइँचो लाग्छ । आजको दिनले मलाई ०६० सालको शिवरात्रिमा महाराजगन्जस्थित नेपाली सेनाको भैरवनाथ गणभित्रको कहालीलाग्दो घटनाको स्मरण गराउने गरेको छ ।

हजारपटक मरेर बाँच्नु पर्दाको पीडाका शृंखला र थुप्रै नमीठा अनुभूति म र मेरा सहयोद्धा बन्दीका लागि अविस्मरणीय छन् । ठीक १२ वर्षअगाडि आजकै दिनको घटना एक्कासि मेरो मानसपटलमा आयो । नकोट्याउँ भन्छु, बिर्सुं भन्दा पनि भुल्न सक्दिनँ ।

०६० साल शिवरात्रिको दिन । अमानवीय यातना खेपेको दिन । हामी बन्दीहरूले भोकभोकै बस्नुपरेको दिन । किनकि, आजैको दिन हामीलाई खाना आएन । सेना दिवस समारोहको भोजको खाना हामीले खान मिल्दो रहेनछ । मेसका कर्मचारी पिपा उतै व्यस्त हुन्छन् रे । त्यो दिन हाम्रा लागि खाना रोक्ने आदेश थियो रे । ड्युटीमा बस्नेमध्ये एक मनकारी सिपाहीले पछि खुस्सुक्क भनेका मलाई । सनकको भरमा यस्तो खाना कटौती बेलाबेला हुने गथ्र्यो । हुन त योभन्दा अघि पनि २३ दिन भोकभोकै राखेर गुन्द्रीसमेत खानुपरेको थियो भने, दुई बन्दी साथीहरु भोकैले मरेका थिए ।

१८ घन्टाको फरकमा एक गिलास भात खान पाइने नियम बनाइदिएका थिए । किनकि सजिलै मर्न नदिने, बाँच्न पनि नदिने रे । त्यो दिन खाना पाउने आशा मरिसकेको थियो । आँखामा पट्टी लगाएर अँध्यारो बंकरमा बस्नुपर्ने भएकाले दिन र रात छुट्याउन मुस्किल पथ्र्यो ।

तथापि ब्यारेकभित्र बज्ने घन्टी र ब्रह्माण्डको तापक्रम घटी-बढी हुने आधारमा पनि दिन वा रात कुन हो भन्ने अनुमान गर्न सकिन्थ्यो ।

शिवरात्रिको रात सेनाको ब्यारेकमा पिसाब फेर्दा लगाइएको करेन्टले मेरो प्रजनन प्रणालीसम्बन्धी सेल नष्ट भए, अहिले म एकप्रकारको अपांगता भएको व्यक्ति हुँ

रातको सिरेटोले जिउ काँपिरहेको थियो । एकै ठाउँमा लडाइएको भए पनि बन्दी साथीहरू एक-अर्कासँग बोल्न प्रतिबन्ध थियो । सायद मध्यरात हुँदो हो, ११ बजेको घन्टी बजेको थियो । चिसो र भोकले निद्रा आउने कुरै थिएन ।

त्यसैबेला केही सैनिक बुटहरूको आवाज सुनियो । बुटवालाभित्र पसेपछि परफ्युमको गन्ध आयो । त्यो सेन्ट त मेजर विष्टको जस्तो लाग्छ, किन आएछन् यतिबेला भन्ने लाग्यो । आँखा बन्द भएपछि अर्को इन्द्रीय बढी सक्रिय हुँदो रहेछ । कुटाइमा देव्रे कानको जाली फुटेकाले सुन्ने भन्दा सुँघ्ने इन्द्रीय बढी सक्रिय थियो मेरा लागि । आइरहनेमध्ये कुन हाकिमले कस्तो परफ्युम लगाउँछन् भन्ने थाहा पाउँथेँ मैले । कतिपयलाई ‘नेचुरल बडी गन्ध’ले पनि पत्तो लगाउँथेँ ।

कर्णेल बस्नेतको अर्कैखालको थियो भने क्याप्टेन राणाको भिन्दै । त्यतिबेला हामीलाई कसैको नाम थाहा थिएन, पछि थाहा पायौँ । तर, तिनीहरूको नाम मनमनै आफैँ राख्थेँ- राम्रो व्यवहार गर्ने सिपाहीको नाम मखमल, गुलाफ, घिउ, नौनी आदि । नराम्रो व्यवहार गर्नेको जल्लाद, अरिंगाल, स्याल, ब्वाँसो, छुचुन्द्रो, कोरी आदि । मेजर विष्टले बन्दीलाई क्रूर व्यवहार गर्ने भएकाले ब्वाँसो नाम राखिएको थियो । ‘ब्वाँसो’ मध्येरातमा छिरेपछि मेरो मनमा चिसो पसिसकेको थियो ।

उनले सबै बन्दीलाई आदेश दिए, उभिनका लागि । हात पछाडि फर्काएर लडाइएकाले बल्लबल्ल उभियौँ । मलगायत केही पुरुष र केही महिला बन्दीलाई नांगै बनाइयो । त्यतिबेला हतकडी र आँखाको पट्टी खोल्दै बत्तीको उज्यालो दिएर ‘शारीरिक सम्पर्क गर्’ भनियो । हामी प्रतिकार गर्‍यौँ । एकापसमा जुधाइयो । कोलाहल भयो । रुवाबासी भयो । बन्दीहरूले चिच्याउँदै भने, ‘पापी बरु गोली ठोकेर मार् । ‘यदि तेरा आमा, दिदीबहिनी र श्रीमती छन् भने एकपटक सोच्’ भनेर महिला साथीहरू कराउन थाले । मुखमा थुके । सामूहिक प्रतिवाद गर्‍यौँ । बरु हामीले बेसरी कुटाइ खायौँ, यातनाका एउटा शृंखलाको नयाँ हर्कत असफल पार्‍यौँ । यातना पनि कस्तो कस्तो ! अहिले सम्झँदा आङै सिरिंग हुन्छ ।

वास्तवमा त्यो शिवरात्रिको मध्यरात भाङ खाएर मातेर आएका रहेछन् मेजरहरू । त्यसपछि मलाई लडेको ठाउँबाट उठाएर बाहिर लगियो । ‘पिसाब लागेको छ ?’ भनेर सोधियो । मैले पिसाब लागेको बताएँ । आँखामा पट्टी लागिसकेको थियो, तर शरीर भने नांगै । पिसाब मात्र के फेरेको थिएँ, एक्कासि करेन्टको ठूलो झड्काले उछिट्यायो । बेहोस भएँछु । शरीर सुनिएर हात्तीजस्तो भएछ । १२ दिनसम्म थला परेँ ।

अघि-अघि शरीरमा छ्यास्सछुस्स लगाउने करेन्ट सामान्य खालको थियो, त्यो पचाइन्थ्यो । एक दिन साथी वीरेन्द्र बस्नेतलाई करेन्ट लगाउँदा ‘कुन कमिलाको टोकाइ खान मन छ, नेपाली, अमेरिकन वा बेलायती ?’ भनेर सोधिएको थियो रे । करेन्टका स्तरका नाम रहेछन् ती । ‘टोकाइ खान परेपछि नेपालीकै खाउँ’ भनेछन् । उल्टै पिटेर अमेरिकन कमिलाले टोकाइ दे भनेर अलि ठूलो करेन्ट लगाएछन् ।

शिवरात्रिको रात मलाई लगाएको धेरै ठूलो भोल्टेजको करेन्ट रहेछ । त्यसले मेरो प्रजनन प्रणालीसम्बन्धी आवश्यक सेल सिज भएछन् । त्यो कुरा तीन वर्षपछि नख्खु जेलमा आईसीआरसीका डाक्टरबाट थाहा पाएँ । अहिले पनि म एक प्रकारको अपांगता भएको व्यक्ति हुँ । नेपालमा सुनुवाइ नभएपछि यसविरुद्ध मेरो तर्फबाट आईसीआरसीसँग सम्बन्धित एक संस्थामार्फत संयुक्त राष्ट्र संघको मानव अधिकार उच्च आयुक्तको कार्यालय जेनेभामा मुद्दा दर्ता गरेर लडिरहेछु ।

हामी नेपालीलाई यस्तो यातना सामान्य लागे पनि अन्तर्राष्ट्रिय हिसाबले यो मानव अधिकार हननको ठूलो मुद्दा हुने रहेछ । फ्रन्सका एकजनाले मेरो यो यातनाका विषयमा विद्यावारिधि पनि गरेका छन् ।

अनलाइनखबर डटकमबाट साभार

सम्बन्धित खबर