पर्यावरण बिगार्नेमाथि कारबाही हुन्छ मन्त्री पासवान

दियो पोस्ट  

गाईघाट ,उदयपुर०, ८ चैत । चुरे क्षेत्र आसपासका नदीनाला क्षेत्रबाट गिट्टी, बालुवा र ढुङ्गा निकासीमा सरकारले थप कडाइ गरेको विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले बताए ।

सदरमुकाम गाईघाटस्थित शान्ति समाज नेपालको कार्यालयमा आज बिहान प्रो पब्लिक पुस्तकालयको उद्घाटन गर्दै मन्त्री पासवानले चुरे तथा महाभारत आसपास क्षेत्रका नदीनाला र महाभारत क्षेत्रका जमिन भत्काएर प्राकृतिक पर्यावरण नै बिग्रने गरी मनपरी ढङ्गले ढुङ्गा, बालुवा तथा गिट्टी निकासी गर्न सरकारले छुट नदिने बताए ।
यदि कसैले चुरे क्षेत्र आसपासबाट गिट्टी, बालुवा तथा ढुङ्गा मनपरी ढङ्गले निकालेर दुरुपयोग गर्छ भने तिनीहरुमाथि तुरुन्त कारबाही हुन्छ ।”

यस्ता सामग्री इन्जिनियर तथा प्रविधिज्ञले तोकेको स्थानबाट सामान्य बेल्चा प्रयोग गरेर मात्र निकाल्न पाइने नीति सरकारले लिएको जानकारी दिँदै उहाँले क्रसर उद्योग सञ्चालन गरी चुरेको प्राकृतिक पर्यावरण बिगार्नेमाथि सरकारले कडा कारबाही गर्ने दृढता व्यक्त गरे ।

स्थानीयवासीले चुरे क्षेत्र आसपासका नदीनालाबाट गिट्टी, बालुवा निकासी गर्न पाउनुपर्ने माग गर्दै आइरहेका बेला मन्त्री पासवानको यस्तो भनाइ आएको हो ।

मन्त्री पासवानले मधेसी दलको धेरै माग पूरा भएको र पूरा नभएको भए संसदीय प्रक्रियाबाट संविधान संशोधन बाटो अवलम्बन गर्न सुझाव पनि दिए ।