बाँके, १३ चैत । नेपाल पर्यटन पत्रकार महासङ्घ नेफ्टोजले पर्यटन विधामा विज्ञ पत्रकार उत्पादन गर्ने हेतुले राष्ट्रियस्तरको ‘पर्यटन पत्रकारिता प्रशिक्षण’ कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्जमा आज सम्पन्न ‘पर्यटन पत्रकारिता प्रशिक्षण’ बाट देशभरिका ५४ पत्रकार प्रशिक्षित भएका छन् ।
मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार मध्येको पर्यटन एक बलियो पक्ष भएको ठहर गर्दै महासङ्घले पर्यटन क्षेत्रको अथाह सम्भावना उजागर गर्नसक्ने विज्ञ पत्रकार निर्माणार्थ प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षणमा नेपालको प्राकृतिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक, ऐतिहासिक र युद्ध पर्यटनको खोज पत्रकारिता, वर्तमान पत्रकारिता, फोटोको महत्व र त्यसले पार्ने प्रभावका बारेमा पत्रकारलाई प्रशिक्षित गरिएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले सञ्चार प्रविधिको रुपान्तरण अहिलेको अनिवार्य शर्त भएको बताए । पर्यटन पत्रकारले प्रविधिको दुनियाँमा आफूलाई सक्षम बनाउन सुझाउँदै उनले भने, “इन्स्टाग्राम, ट्वीटर, ह्याज् ट्याग, लिङ्क्डइन प्रचारप्रसारका व्यापक माध्यम हुन, यिनको उपयोगले नेपाल विश्वको आकर्षक पर्यटकीय गन्तव्य हो भनेर सजिलै चिनाउन सकिन्छ ।”
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक एआइजिपी रणबहादुर चन्दले आगन्तुक विदेशी तथा स्वदेशी पाहुनाका लागि बाटो, बाससहित शान्ति सुरक्षाको सुनिश्चिता हुन सकेमात्र पर्यटन उद्यम फष्टाउने बताए । प्रकृतिको वरदान नेपाललाई विश्व पर्यटनको हवका रुपमा निर्माण गर्न राज्य, नागरिक र निजी क्षेत्रको समतामूलक योगदान हुनुपर्नेमा उनले जोड दिए ।
नेपाल पर्यटन पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष धनीराम शर्मा ऋतुविचारले राष्ट्रिय पूँजीको निर्माण गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेकोप्रति जोड दिए । दक्ष एवं विज्ञ पत्रकार उत्पादन गरी पर्यटन पत्रकारिताबाट समृद्धिको दियो बालेर अघि बढ्ने यात्रामा लागिएको बताउँदै उनले भने, “मुलुक समृद्धिका लागि पत्रकारितामा विधागत विज्ञता आवश्यक छ ।”
उनले अधिकतम् ध्यान दिएर नेपालको पर्यटन क्षेत्रको महत्वलाई विश्वमाझ पु¥याउने प्रमुख सोचका साथ राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको बताए । यसबाट नेपालको पर्यटन विकास र मुलुकको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकका ७७ जिल्लाबाट १०० पर्यटकीय गन्तव्य सूचीकृत गरेकोमा महासङ्घले एक हजार आकर्षक पर्यटकीय गन्तव्य पहिचान गरी प्रकाशमा ल्याउने सङ्कल्प गरेको छ । नेपालमा पहिलोपटक सम्पन्न भएको पर्यटन विधाको पत्रकारिता प्रशिक्षणले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने कान्तिपुर प्रकाशनका उपसम्पादक दुर्गालाल केसीले बताए । नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा नेपाल पर्यटन पत्रकार महासङ्घ नेफ्टोज ले तीनदिने ‘पर्यटन पत्रकारिता प्रशिक्षण’ कार्यक्रम गरेको थियो ।