जर्मन वामपन्थी पार्टी प्रतिनिधि र प्रचण्ड बिच भेट

दियो पोस्ट  

काठमाडौ, १० चैत । जर्मन वामपन्थी पार्टीका प्रतिनिधि श्रीमती हेइक हेन्जल र एमाओवादी पार्टीका अध्यक्ष प्रचण्ड बिच आज विहान प्रचण्ड निवास लाजिम्पाटमा भेट अवार्ता भएको छ ।
नेपालमा नेपाली आफैंले शान्ति प्रक्रिया र संविधान निर्माण गरेको प्रचण्डले भेटमा बताए । उनले भने ‘नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माणमा विल्कुलै नौला उदाहरणहरु प्रस्तुत भएका छन् । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान सभाको निर्वाचन पश्चात पहिलो गणतान्त्रिक सरकारको नेतृत्व, सेना समायोजन र संविधान सभाबाट नयाँ संविधान निर्माण नेपाली जनताले अनुभूत गरेका नौला अनुभूति हुन् ।’ उनले नेपाली जनता आफैंले शान्ति प्रक्रियामा नौलो उदाहरण स्थापित गरेको पनि बताए ।

उनले आफ्नो अनुभूति सुनाउँदै भने, ‘मैले जनमुक्ति सेनाको सुरक्षामा रहेर संविधान सभाको चुनावमा मतदान गरें, अहिले संविधान सभाबाट संसारको सबैभन्दा समावेसी संविधान जारी भएको छ ।’ संविधानमा आफूहरुले उठाएका सबै विषयहरु समेट्न भने नसकिएको उनको भनाई थियो । उनले माओवादीले नै संविधान सभाबाट संविधान बनाउने मुद्धा उठाएको पनि बताए ।

अध्यक्ष प्रचण्डले अब देश संमृद्धितर्फ अगाडि बढ्ने बताउनु भयो । देश विकासका लागि जलविद्युत, पर्यटन र कृषि मुख्य रहेको उनको भनाई थियो । जर्मन वाम पार्टीको तर्फबाट श्रीमती हेइक हेन्जलले युरोपमा वाम आन्दोलनका बारेमा आफ्ना भनाई राखेकि थिइन । उहाँले जर्मनमा वाम आन्दोलन उठाउन धेरै चुनौति रहेको पनि बताइन ।