मानसिंह विक
रोल्पा, ११ चैत्र । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नयाँ शक्तिलाई पुरानै बोतलको नयाँ रक्सीको संज्ञा दिएका छन् । बाबुराम भट्टराईले नयाँ शक्ति गठन गर्ने भनेर अरुलाई भ्रम पार्न खोजेको बताउँदै उनले बाबुरामलाई कम्युनिष्ट सिद्धान्त छोडेको आरोप लगाए । ‘नयाँ बोटलमा पूरानै रक्सी राखेको मात्रै हो, बाबुरामले पुरानै मानिसले नयाँ लुगा मात्रै लगाउनुभएको हो,’ पार्टी कार्यक्रमको शिलशिलामा बुधबार रोल्पा पुगेका नेपालले भने ।
नेपालले विप्लव माओवादीले राज्य सत्ता स्थापना गर्न नसक्ने ठोकुवा गरे । ‘बन्दुकले राज्य सत्ता स्थापना गर्न सकिदैन, ’ पार्टी कार्यक्रमको क्रममा बुधबार रोल्पा पुगेका नेपालले भने,‘ अझै त्यो भ्रममा हुनुहुन्छ भने आजैदेखि बन्दुक होइन दलिय प्रतिपर्धामा आउनुहोस्, अब बन्दुकको काम छैन ।’
नेपालले शान्तिपूर्ण बाटोबाट र दलीय प्रतिस्पर्धा गरेर सबै कम्युनिस्टले शासन चलानउनुपर्नेमा जोड दिए । उनले देशलाई समुन्नत पार्न नेकपा एमाले बाहेक अरु कुनै शक्ति तथा पार्टीसँग स्पष्ट भिजन नभएको बताए ।
नेपाली कांग्रेसले लामो समय सत्ताको नेतृत्व गरे पनि नेपाली जनतालाई विकासको कार्यक्रम दिन नसकेको नेपालले आरोप लगाए । रोल्पा एमाओवादीको आधार इलाका भएको भन्दै उनले भत्काएर एमाले अखडा बनाउन कार्यकर्तालाई निर्देशन दिए ।