कैदीबन्दीको अवस्था दयनीय

कैदीबन्दीको अवस्था दयनीय

 

नेपालगन्ज, १२ चैत । नेपालगन्ज बजारको मध्यभागमा रहेको बाँके जिल्ला कारागारमा अहिले क्षमताभन्दा अत्यन्त धेरै कैदीबन्दी राखिएका छन् ।

कारागार विभागले ३०० कैदी राख्नसक्ने क्षमता निर्धारण गरे पनि सो कारागारमा अहिले ६०५ कैदीबन्दी खाँदाखाँद गरेर राखिएको छ । बाँके जिल्ला अदालतले विभिन्न मुद्दाको फैसला कार्यान्वयन अभियान सुरु गरेपछि कारागारमा कैदीबन्दीको सङ्ख्या ह्वात्तै बढेको जेलर श्याम लामिछाने बताउछन् ।

कोठाको अभाव भएपछि अहिले केही कैदी टिनले छाएको टहरामा रात बिताउने गर्छन् । जाडो र गर्मी महिनामा टहरामा रात बिताउने कैदीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न थालेपछि उनीहरुको दैनिकी झन् कष्टकर भएको छ ।

करिब १७ कट्ठा क्षेत्रफलमा रहेको सो कारागारका कैदीमध्ये ६२ महिला रहेका छन् भने पाँच नाबालक आप्mनो आमासँग आश्रित जीवन बिताउन बाध्य छन् । कारागार प्रशासनले एकजना कैदीलाई प्रतिदिन रु ४५ नगद र ७०० ग्राम चामल दिने गर्छ ।

कैदीको आचरण सुधारका लागि उनीहरुलाई स्वरोजगारमूलक काममा उत्प्रेरित गर्न कारागार विभागले त्यहा बाँसको मुढा बनाउने र महिला कैदीका लागि सिलाइकटाइ व्यवसायको समेत व्यवस्था गरेको छ ।

करिब एक सय वर्ष पुरानो जीर्ण अवस्थाको सो कारागारमा कैदीको सङ्ख्या बढ्न थालेपछि बाँके जिल्लाको गनापुर—८ मा रहेको कृषि मन्त्रालयको जग्गामा ठूलो कारागार निर्माणको कार्य अघि बढाइएको छ ।

Trending News