माधव नेपाललाई ओली सरकार ढाल्ने ‘आफर’ : ‘मलाई प्रधानमन्त्रीको बन्ने प्रस्ताव आयो !’

दियो पोस्ट  

काठमाडौं, २१ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई सरकार ढाल्ने र प्रधानमन्त्री बन्ने अफर आएको खुलाशा गरेका छन् । उनको यो खुलाशा आजको जनआस्था साप्ताहिकले खबर छापेको छ ।


‘तपाईंलाई असयोग गर्ने भनेको छैन तर सहयोग पनि के नाममा गर्ने, कुन कुरा हेरेर यो चाहीँ राम्रो गर्नु भयो भनेर सहयोग गर्ने ?’ माधव नेपालले केपी ओलीलाई भनेको संवाद उल्लेख गर्दै जनआस्थाले लेखेको छ– यो संवाद हो गत बुधबार साँझ ४ बजेर २० मिनेट जाँदा, बालुवाटारको ।

पौने ३ बजेतिरै सचिवालयको बैठक सकिएर सबै हिँडिसकेको थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले भएभरका सञ्चारमाध्यम अघिल्तिर उभिएर निर्णयबारे जानकारी दिनु भएलगत्तै अध्यक्ष बाटै फरक धारणा आयो । कोटेश्वर नपुग्दै माधव नेपाललाई फोन गयो ।

‘एकदमै जरुरी छ, तपाईं फर्किनुपर्ने भयो कमरेड, भनिएपछि उहाँ फेरी बालुवटाटार पुग्नु भयो । प्रधानमन्त्रीको एउटै आग्रह थियो,‘मलाई सहयोग गर्नु पर्यो !’ माधवले सोध्नु भयो ,‘किन ?’ प्रमले भन्नु भयो,‘वामदेवलाई राष्ट्रियसभामा लैजान नसक्ने मेरा केही बाध्यता छन् । मैले युवराज खतिवडालाई दोहोर्याउन भनेर बचन दिइसकेको छु । राष्ट्रपतिलाई पनि यो कुरा सुनाइसकेको छु । यसैमा मलाई साथ दिनुपर्यो । तर माधवले मान्नु भएन । भन्नुभन्नु भयो,‘तपाईंले एक डेढघण्टा अघि मेरो बाध्यता यो छ । राष्ट्रपति र युवराजलाई वचन दिएको छु भन्न सक्नुहुन्थ्यो । हामी पनि बुझ्छौँ नि के समस्या हुन्छ भन्ने । जेएन, म र प्रचण्ड गरी तीनजना प्रधानमन्त्री भइसकेको मान्छे त्यहीँ थियौँ त ! प्रधानमन्त्रीले पार्टी नेतृत्व व्यक्ति–व्यक्ति र सरकारलाई सन्तुलनमा लिएर जानुपर्छ, यस क्रममा बाध्यता अनेक आइलाग्छन भन्ने कुरा त हिजो हामीले भोगेर, फेस गरेर आएको हो नी । त्यही परिस्थित आज तपाईंमाथि आइपरेको हुनसक्छ ।

यदि त्यस्तो भनिदिनुभएको भए कतै वामदेवले नै भैगो त म जान्न भन्ने सक्नुहुन्थ्यो होला । ’ प्रमले भन्नुभयो,‘तर यो निर्णय म कार्यान्वयन गर्न सक्दिनँ ।’ माधवले आश्चर्य मान्दै भन्नुभयो,‘निर्णय भइसकेपछि मान्दिन भन्न पाइँदैन । तपाईं विश्वस्त हुनुस् जे भएपनि सरकार तलमाथि हुँदैन ।’ उहाँले सुनाउनु भयो,‘यदि सरकार तलमाथि हुने थियो भने उहिल्यै भइसक्थ्यो । किनभने यसबीच के कस्ता अफर आए ? कता–कताबाट, कस्ता–कस्ता चलखेल भए ? मेरै हकमा पनि कस्ता कस्ता प्रस्ताव आए ? तपाईंलाई थाहै छ तर म कहिल्यै त्यतातिर लागिन । अहिले तपाईंको सरकारमाथि कतैबाट केही हुन नदिने कुराको जिम्मा हामी नै लिन्छौँ । हामीसँग तपाईं किन आत्तिनुहुन्छ ?’