{फलोअप}चन्द्रागिरीमा ७ चट्टा दाउरा घोटाला : स्थानियबासीले चोरेको चन्द्रागिरी हिल्सको रिपोर्ट

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ फागुन । राष्ट्रिय वन क्षेत्र भित्र विभिन्न अवैध संरचना बनाएर धन्दा चलाउँदै आएको चन्द्रागिरी हिल्सले वन क्षेत्र भित्रको दाउरामा समेत घोटाला गरेको पाइएको छ ।


तत्कालिन फन पार्क प्रा.ली हालको चन्द्रागिरी हिल्सले चन्द्रागिरी क्षेत्रमा कटान गरेको रुखमा व्यापक घोटाला गरेको पाइएको हो ।


यद्धपी २ चट्टा अर्थात हजार घनमिटर दाउरा घोटाला भएपछि चन्द्रागिरी हिल्स व्यवस्थापन उक्त दाउरा स्थानियबासीले चोरी गरेर लगेको गम्भिर आरोप समेत लगाएको खुलेको छ ।


तत्कालिन फनपार्क प्रा.ली हालको चन्द्रागिरि हिल्सले वन विभाग कबुलियती वन क्षेत्रको ३६ हजार हेक्टर जमिनमा केवलकार, भ्युटावर, रिसोर्ट लगायत विभिन्न उद्योग चलाउँदै आएको छ । तत्कालिन थानकोट गाविस वडा नम्बर १ हालको चन्द्रागिरी स्थित कबुलियती बनको ३६ हेक्टर अर्थात सात सय ९ रोपनी जग्गा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको समुहले कौडीको भाउमा हत्याएको थियो ।

४० वर्षे भाडा सम्झौता पत्र अनुसार पहिलो आर्थिक वर्षमा वार्षिक १ लाख ८० हजार अर्थात प्रति महिना २१ रुपैयाँ प्रति रोपनीको दरले तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको सरकारले ढकाल समुहलाई सुम्पेको थियो ।


सोही समुहले रिसोर्ट, केवलकार, भ्यू टावर र मन्दिर निर्माणका लागि रुख कटान गर्न पाउँ भन्दै निवेदन दिएको थियो । चन्द्रागिरी हिल्स अर्थात तत्कालिन फनपार्क प्रा.लीलाई तत्कालिन वन मन्त्री दीपक बोहराले २०७० चैत्र २३ गते चन्द्रागिरी पहाडमा रहेको १६० वटा रुख कटान गर्न अनुमति दिएको थियो ।


जिल्ला वन कार्यालयले २०७१ वैशाख २४ गते काटेको पत्रमा १६० वटा रुखहरु कटान मुछान गरी महादेवस्थान इलाका वन कार्यालयका वन कर्मचारीको प्रत्यक्ष निगरानीमा चन्द्रागिरी सचेत महिला सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा घाटगद्दि गर्न भनेको थियो । तर चन्द्रागिरी हिल्सले केवलकारको रुटमा मात्रै २०८ वटा रुखहरु काट्न पाउनुपर्ने माग गरेको थियो । रुख कटानपछि जम्मा हुने ९.३९ चट्टा दाउरा, काठपात चन्द्रागिरी हिल्सले बुझाउनु पर्ने थियो । तर, चन्द्रागिरी हिल्सले २ चट्टा दाउरा मात्रै बुझायो । बाँकी रहेको साढे ३ हजार घनफूट अर्थात ७ चट्टा दाउरा भने चोरी भएको रिपोर्ट चन्द्रागिरी हिल्सले बुझाएको छ ।


विनाशकारी भूकम्पको समयमा चन्द्रागिरीका स्थानियबासीले दाउरा चोरी गरेको आरोप लगाउँदै चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेक विक्रम शाहले रिपोर्ट बुझाएको पाइएको छ । यद्धपी चन्द्रागिरीका एक स्थानियबासी भने स्थानियले हजार घनमिटर त के एउटा पनि दाउरा चोरी गरेको स्विकार गर्दैनन् । ‘यो सबै चन्द्रागिरी हिल्सले वनको काठ दाउरा घोटाला गर्ने दाउ हो ।

थानकोटबासी जनता त्यसरी चन्द्रागिरीसम्म दाउरा चोर्न जानुपर्ने बाध्यतामा भूकम्पको समयमा थिएनन् । त्यहाँसम्म दाउरा चोर्न यहाँको स्थानियबासी गएको र चोरेर लग्यो भनेर रिपोर्ट बुझाउनु निकै आपत्ति जनक छ,’ ती स्थानिय भन्छन्,‘हामी चन्द्रागिरीबासीलाई चोरीको आरोप लगाएर आफूहरुले गरेको घोटाला लुकाउने प्रपञ्च हो ।’


जिल्ला वन कार्यालय काठमाडौंको हात्तिसार स्थित कार्यालयलाई चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले २०७३ असोज १४ मा दिएको निवेदनमा भनिएको छ,‘लागतमा मुल्यांकन भएको ९.३९ चट्टा दाउरा उत्पादन हुनुपर्नेमा छपान भएका रुखहरु यस कम्पनिले कटान गर्दा सोही अवधीमा महाभूकम्प (२०७२ साल वैशाख १२) र तत्पश्चात भएको नाकाबन्दीको कारणले कटान भएका रुखहरुको दाउरा स्थानिय तथा बाहिरका मानिसहरुले चोरी लागेका हुन् ।’


शाहले बुझाएको रिपोर्ट जस्तो चन्द्रागिरी हिल्सले कटान गरेको दाउरामा त्यति ठूलो परिमाणमा कुनै चोरीको घटना नै भएको थिएन । चोरीको त्यति ठूला घटना भएको भए प्रहरीले समेत खबर पाउँथ्यो । तर, तत्कािलन प्रहरीले कुनै जानकारी समेत पाएन ।


स्रोतका अनुसार चोरी भएको रिपोर्ट बुझाएर चन्द्रागिरी हिल्सले नै वनको काठपात आफ्नो भौतिक संरचना निर्माणमा प्रयोग गरेको छ । २०७३ कार्तिक ३० मा जिल्ला वन कार्यालयको खाता नम्बर १-१-००१ मा चोरी भएको भनिएको दाउराको पैसा तिरिएको छ । दियोपोस्टले प्राप्त गरेको रेकर्ड अनुसार राष्ट्रिय वाणिज्य बैंकको खातामा १ लाख एकासी हजार रुपैयाँ वन पैठारीको भन्दै रकम जम्मा गरिएको छ । स्थानिय जनतालाई चोरी आरोप लगाउने चन्द्रागिरी हिल्सले आफैले चोरी भएको काठ दाउराको राजश्व किन बुझायो ?


स्रोत भन्छ,‘मिलेमतोमा घोटाला थियो । ७ चट्टा दाउराको मुल्य १ लाख ८१ हजार हुनै सक्दैन । त्यो त बहाना बाजी मात्रै हो ।’

वन कार्यालयले नै पत्याएन चन्द्रागिरी हिल्सको फर्जि प्रतिबेदन !


जिल्ला वन कार्यालयले २०७३ असार १७ मा सर्तहरु पालना नगरेको भन्दै चन्द्रागिरी हिल्स अर्थात फन पार्क प्रा.लीलाई पत्र काटेको थियो । उक्त पत्रमा वन कार्यालयले चन्द्रागिरी हिल्सले बुझाएको प्रतिबेदनमा ध्यानाकर्षण भएको र चोरी भएको भन्ने विषय प्रति आशंका गरेको छ ।

वन कार्यालयले प्राविधिकको टोलीनै पठाएपछि दाउरा चोरी भएको भन्ने विषय अस्विकार गरेको छ । जसमा चन्द्रागिरी हिल्सकै स्वामित्व रहेको रिसोर्ट वरपर दाउरा देखिएको प्राविधिकहरुको निष्कर्श थियो ।

चन्द्रागिरी हिल्सको नाममा राष्ट्रिय वनमा चन्द्र ढकालको रजाईं : प्रति रोपनी २१ रुपैयाँ भाडा !

सिफारिस