काठमाडौं, ३ चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को ५३ रोपनी जग्गा कौडीको भाउमा हत्याएर मापदण्ड विपरितको महल बनाएको विवादित व्यापारीहरुको समुहले भाडा समेत नतिरेको खुलेको छ ।
विवादीत व्यापारी तथा ३३ किलो सुन तस्करीको अभियुक्त विमल पोद्दार, उनका व्यापारिक साझेदार तथा सुन तस्करीकै आरोपी दीपक मलहोत्रा र नेपाली कांग्रेसका सांसद मोहन आचार्यको साझेदारी रहेको रसुवा केडी ज्वाइन्ट भेन्चर प्रा.लीले विमानस्थलको ५३ रोपनी जग्गाको भाडा बापत ६ करोडभन्दा बढी रकम नबुझाएको खुलेको हो ।
पछिल्लो समय सबै शेयर विवादित व्यापारी दीपक मलहोत्राले आफ्नो नाममा ल्याइसकेका छन् । मलहोत्राले नागरिक उडयन कार्यालय गौचर स्थित विमानस्थललाई बुझाउनुपर्ने बक्यौता रकम मात्रै ६ करोड भन्दा बढी रहेको प्राधिकरणका राजश्व शाखाका एक कर्मचारीले दियोपोस्टलाई बताए ।

दियोपोस्टले प्राप्त गरेको प्रमाण अनुसार मलहोत्राले २०७५ असार ३२ मा एक करोड रुपैयाँ बुझाएका थिए । त्यस्तै गत वर्ष माघमा १ करोड बुझाएको रेकर्डमा बुझ्न सकिन्छ । विमास्थल स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको कर्पोरेट महाशाखाका एक कर्मचारीका अनुसार मलहोत्राले रोयल्टी बापतको करोडौं रकम समेत बुझाएका छैनन् । ‘हिसाब किताब नै गोलमाल छ । उहाँले साढे ६ करोडको हाराहारीमा भाडा नै बुझाउनु भएको छैन,’ ती कर्मचारीले भने,‘विवाद बढिरहेको छ । संसदीय समितिले समेत चासो देखाएपछि मात्रै २ करोड रुपैयाँ भने जम्मा गर्नु भएको हो ।’

उक्त जग्गा नागरिक उड्डयन प्राधिकरणले सवारी साधन विसान, बाहिर निष्कने मार्ग, आगन्तुक प्रतिक्षाकक्ष, चमेना गृह, पर्यटक मनोरन्जनका लागि पार्क, बगँैचा लगायत विमानस्थल व्यावसायसँग सम्बन्धित कामको लागि भाडामा दिएको हो ।
२०६९ कार्तिक २ गते रसुवा केडी र प्राधिकरणबीच १३ बुँदे समझदारी भएको थियो । सम्झौतामा विमानस्थल कार्यालयका तत्कालीन महाप्रबन्धक रतीशचन्द्र लाल सुमनले प्रथम पक्षको तर्फबाट हस्ताक्षेर गरेका छन् भने दोस्रो पक्ष अर्थात रसुवा केडीका तर्फबाट मोहन आचार्यले हस्ताक्षर गरेका छन् । विवादित व्यापारी मलहोत्राले भने साक्षीमा हस्ताक्षेर गरेका छन् ।
सम्झौता अनुसार यो समुह (रसुवा) केडी जेभिले विमानस्थलको करिब ५३ रोपनी जग्गा कौडीको भाउमा पाएको थियो । करिब ५३ रोपनी जग्गाको भाडा वार्षिक ७८ लाख मात्रै । अर्थात प्रतिरोपनी १२ हजार ५ सय रुपैयाँ मासिक। (हाल संशोधन गरीे यो भाडा वार्षिक १ करोड ५६ लाख पुर्याइएको छ ।
कौडीको भाउमा सरकारी जग्गामा रजाइँ गरिरहेको यो समुहले सम्झौतामै नभएको ‘विमानथस्थलको जग्गा र माटो उत्खनन् गरेर बेचेमो समेत खुलाशा भएको थियो ।
शुरुमा पेश गरेको डिजाइन अनुसार भूमिगत पार्किङ नबनाउने र दुई तले भवनको भुइँतलामा पार्किङ बनाउने उल्लेख थियो ।
प्राधिकरणकै लापरबाहीले ३७ फिट अग्लो दुई तलाको व्यावसायिक भवन बनाउने सम्झौता विपरीत ५२ फिट अग्लो, भूमिगत पार्किङ सहितको पाँचतले भवन बनाइयो । त्यतिमात्रै होइन यो भवनले महानगरपालिकाबाट समेत इजाजत लिएको छैन । भवनको भुइँतलाको दायाँ तर्फ ‘द बेकरी क्याफे’ सञ्चालित छ । सोही तर्फ एउटा अर्को गेट समेत बन्दैछ । यो गेट समेत सम्झौता विपरित निर्माण भइरहेको छ ।

यहाँ अढाई वर्षदेखि प्रभु बैंकको शाखा कार्यालय छ । तेस्रो तलामा ज्योति विकास बैंक छ । यी बैंकहरुको विमानस्थल व्यावसायसँग कुनै सम्बन्ध छैन । बाहिरका मान्छे आउने गरेका छन् । तर सम्झौतमा भने विमानस्थल व्यावसायसँग सम्बन्धित व्यावसाय भन्ने उल्लेख छ ।
चक्रपथ क्षेत्रको ग्राहक तान्न ठूलो गेट बनाइएको छ । यद्धपी सम्झौतामा भने ‘चेन लिङ्क फेन्सिङ’ (तारबार) गरी जग्गाको संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । मापदण्ड र सम्झौता विपरित बनाइएको भवनको अन्डरग्राउण्ड पार्किङलाई समेत सर्वसाधरणले रहस्यको रुपमा हेरेका छन् । सुन तस्कर पोद्दारसँग मिलेर विमानस्थलबाटै विभिन्न धन्दामा साझेदारी गर्दै आएका मलहोत्राले अन्डरग्राउण्ड पार्किङलाई समेत दुरुपयोग गर्नसक्ने खतरा रहेको विमानस्थलकै कर्मचारी बताउँछन् ।
‘विमानस्थलको सुरक्षालाई समेत चुनौती दिने गरी यो भवन बनेको छ । तर, उच्च राजनीतिक घरानासँग उठबस गरिरहने व्यक्तिहरु समलग्न भएका कारण पनि हामीले यस विषयमा बोल्न उचित हुँदैन,’ विमानस्थलका एक उच्च अधिकारीले दियोपोस्टसँग भने ।

त्रिभुवन विमानस्थल मार्गबाटै भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका पोद्दारले मलहोत्राको नाम समेत पोलेका थिए । तर प्रधानमन्त्री केपी ओलीकै विश्वास पात्र मानिने मलहोत्रालाई गृहमन्त्री राम बहादुर थापा बादलले पक्राउ गर्न खोज्दा समस्या श्रजना भएको थियो । पोद्दारले बयानमा भनेका थिए–‘‘दीपक मल्होत्राले मसंग मेरो ब्यापारिक साझेदारी हुनुभन्दा पहिला निजले सुनको आयात पनि गर्ने गर्दथे । निजले कानूनले तोकेको प्रक्रियाबाट सुन आयात गर्दा संगसंगै अवैध सुन आयात गरी कारोबार गर्छन् भन्ने सुनेको थिएँ ।’