काठमाडौं, १० चैत्र । प्रहरीले हिरा लुटपाटमा संलग्न ३ प्रहरी र एक जना पत्रकारलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय २ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका १ बस्ने २८ बर्षीय हिमकान्त पुन मगर रहेका छन् । आचार्य पत्रकार हुन् भने बाँकी महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीले खटाएको घुमुवा प्रहरी हुन् ।
मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आईतबार साँझ हिरा लुटपाट गरेका थिए । लुटपाट लुटिएको खबरपछि खटिएको ईलाका प्रहरी कार्यालय पालुङको टोलिले उनीहरूलाई पक्राउ गरेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रहरीले उनीहरूको साथबाट हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ ।
प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश ३–०१–०१–००२२ च ३३६२ नम्बरको कार समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरू चोरी तथा डाकामुद्धा अन्तरगत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिएका छन् ।