
धादिङ, २९ फागुन । धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ का वडाध्यक्ष भूवन त्रिपाठीले किर्ते गरि क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । उनले किर्ते गरि त्रिशुली खोला नै दोहन गरेको पुष्टि भएको मात्रै होइन गैरकानुनी उत्खनन् गरेको अभियोगमा सवा करोड भन्दा बढी जरिवाना फैसला भएपनि उनले जरिवाना नतिरेको पाइएको हो।
जनप्रतिनिधि भन्दा पनि क्रसर डनको परिचय बनाएका सांसद भूमि त्रिपाठीका आफन्त समेत रहेका भूवनपनि स्थानिय क्रसर डन नै हुन् ।
त्रिपाठीले संचालन गरेको तेज एग्रिगेट क्रसर उद्योगले गत ४ बर्ष अघि त्रिसुली नदी दोहन गरेबापत जिल्ला प्रशासन कार्यालयले करोडभन्दा बढी जरिवाना तोकेपनि अहिलेसम्म उक्त जरिवाना नै तिरेका छैनन् । जरिवाना नतिरेपनि त्रिपाठीको क्रसरलाई प्रशासनले निर्वाध सञ्चालन गर्न दिएको पाइएको छ ।
त्रिपाठीले सञ्चालन गरेको क्रसरले गैरकानुनी रुपमा त्रिशुली नदिको उत्खनन् गरेको तथा किर्ते गरेर आइई प्रतिवेदन तयार पारेको खुलाशा भएको थियो ।
उक्त अभियोगमा उनलाई जिल्ला छानबीन समितिले १ करोड १७ लाख रुपैयाँ विगो जरिवाना तोकेको थियो । तत्कालिन जिल्ला प्रशासन कार्यालयले किर्ते मुद्दामा पक्राउ गरि मुद्दा चलाउनुको सट्टा जरिवाना गरेर उन्मुक्ति दिएको दिने फैसला गरेको थियो ।
वि.सं.२०७२ सालमा वडाध्यक्ष त्रिपाठीले संचालन गरेको उक्त क्रसर उद्योगले उद्योगका लागि त्रिसुली नदी दोहन गरी अनाधिकृत रुपमा कच्चा पदार्थ उत्खनन् गर्दा मलेखु क्षेत्रमा उपभोग गर्ने खानेपानीको मुहानमा असर परेको भन्दै स्थानियहरुले पटकपटक जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

स्थानियको उजुरीपछी जिल्ला प्रशासन कार्यालयले छानबिन गर्नका लागि छानबिन समिति समेत गठन गरेको थियो ।
जिल्लाका उच्च अधिकारी समलग्न छानबीन समितीले छानबिनका क्रममा उक्त उद्योगका कारण खानेपानीको मुहानमा गम्भिर असर परेको ठहर गर्दै उक्त मुहानको क्षतिबापतको क्षतीपुर्ती तिर्न निर्देशन दिएको थियो । त्यस्तै स्थलगत निरिक्षणका क्रममा क्रसर नजिकै रहेको त्रिसुली नदीमा स्काभेक्टर डोजर र ट्रिपर प्रयोग गरी नदी दोहन गरेको पाइएको थियो । अवैधानिक तवरले नदी दोहन गरेको पाइएको थियो । अनुगमन टोलीमाथि क्रसरका व्यबस्थापक समेत रहेका माडे भनिने वडाध्यक्ष त्रिपाठीका भाई कृष्ण प्रसाद त्रिपाठीले झूटो बयान दिएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदी र जिल्ला वन अधिकृत ईमानाथ पौड्यालको सक्रियतामा स्थलगत छानबीन भएको थियो ।
छानबीनका क्रममा वडाध्यक्ष त्रिपाठीले आईई प्रतिवेदनमै किर्ते गरेको पाइएको थियो ।
त्रिपाठीको क्रसरका लागि आवश्यक पर्ने कच्चा पदार्थ, बोल्डर ढुंगा साविक थाँक्रे गाविस हालको थाँक्रे गाँउपालिका स्थित् आग्रा खोलाबाट ल्याउने भनिएकोमा त्यसलाई टिपेक्स लगाई मेटी हातैले त्रिसुली नदि उल्लेख गरी कीर्ते गरेको फेला परेको थियो ।

उक्त क्रसर उद्योगले कच्चापदार्थ ल्याउने सरकारी इजाजतपत्रमा थाँक्रे गाँउपालिकाको आग्रा खोलाको नाम मेटेर हातैले त्रिशुली नदी लेखेको पाइएपछि प्रमुख वन अधिकृत पौडेल र तत्कालीन उद्योग अधिकृत विजय भट्टराईको अनुसन्धान टोलीले समेत पुनः स्थलगत अवलोकन गरी वडाध्यक्ष त्रिपाठीद्धारा संचालित् तेज एग्रिगेट क्रसरलाई रु. १ करोड १७ लाख ५१ हजार १६० रूपैयाँ जरिवाना तोकेको थियो । तर उक्त जरिवाना तोकेको ४ बर्ष बितिसक्दापनि उक्त क्रसरले भने हालसम्म कुनैपनि सरकारी निकायमा जरिवाना बापतको राजश्वनै तिरेको छैन ।
केही महिनामै सरुवा भएका सुवेदीले जिल्लामा अवैध क्रसर बन्द गराएका थिए । उनको सरुवापछि कारबाहीको फाइल नै गायब बनाइएको स्रोत बताउँछ ।