डोजर लगाएर घाइते महिलालाई पुरेर हत्या गरेपछि कहाँ लुकेका थिए डोजर चालक बुढाथोकी ?

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ चैत्र । गत फागुन १७ गते धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ खोल्सी निवासी ४० वर्षिय सरस्वति कुमाललाई डोजरले ठक्कर दिई घाइते भएपछि जिउँदै पुरेर हत्या गरियो ।

उक्त घटनामा समलग्न सल्यान जिल्लाको छायाक्षेत्र गाविस ९ हाल छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रानागाउँ घर भएका डोजर चालक जिवन भनिने भिम बहादुर बुढाथोकी समलग्नता थियो । उनै बुढाथोकीले कुमालको हत्या गरेको भन्दै स्थानियबासीले डोजरमा आगजनी समेत गरेका थिए ।

हत्या पछि फरार रहेका उनलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले पक्राउ गरेको छ । घटना लगत्तै भाग्न सफल भएका उनी भारतस्थित सलोन जिल्लामा उनकै दाजुभएको स्थानमा लुकेर बसेका थिए । सिआइबीले आज शुक्रबार नै नेपाल भारत सिमास्थल कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गर्न सफल भएको थियो ।

सिआइबीबा अनुसारर गत फागुन १९ गते उनी भारतको जमुनाहा नाका हुँदै नेपालगञ्ज स्थित सुर्खेत होटलमा बसेका थिए । उक्त होटलमै बसेर उनले आफन्तलाई भेटि केही पैसा समेत लिएका थिए ।

चैत्र ४ गते पुन भारतको हरिद्वारा पुगेका उनलाई सिआइबीले भारतीय प्रहरीकै सहायतामा पक्राउ गरेको हुन सक्ने आशंका छ । तर, चार गते भारत पुगेका उनलाई सिआइबीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको दाबी गरेको छ । विशेष स्रोतका अनुसार उनलाई भारतीय प्रहरीकै सहायतामा पक्राउ गरेर सिमा नाकामा नेपाल प्रहरीलाई बुझाइएको थियो ।

उनले नेपालगञ्ज बस्दा प्रयोग गरेको सिमकार्ड समेत निकालेर मोबाइल सेट सोही होटलमा छाडेर सम्पर्क विहिन बनेका थिए । सिआइबीलाई त्यो घटना नै पक्राउको लागि क्लु बनेको स्रोतले बतायो ।

सम्बन्धित खबर