कालिकोटमा पिपिआर रोगले भेडाब्राखा मरे

दियो पोस्ट  

कालिकोट चैत्र १५ । जिल्लामा फैलिएको पिपिआर रोगका कारणले हजारौं भेडाबाख्रा मरेका छन् । रोग फैलिएको क्षेत्रमा पिपिआर खोप नपाउँदा भेडाबाख्रा मेरेका हुन् ।
जिल्लाको उत्तरी गाबिसमा फोइमहादेव, राचुली, चिल्खाया लगाएतका गाबिसमा भेडाबाख्रामा पिपिआर रोग फैलिएको छ । पिपिआर रोगका कारणले शनिबार फोईमहादेव गाबिसका वडा १ का दानबहादुर कटुवालका ७५, लोकबहादुर कटुवालका ५४, मोतीलाल कटुवालका ४५, मन्नु कटुवालका ३५, वडा ४ का मिनबहादुर बुढाका ६४, रन बुढाका ४२, बल बुढाका ८५, वडा नं. ९ का रजबहादुर शाहीका ५५ वटा, बिरवल शाही ३५, गोगन शाहीका ६५ भेडा मरेका छन् । त्यस्तै वडा नं. २ का जनकप्रसाद पाण्डेका ५३ भेडा र वडा नं. ८ का बल राउत र लक्ष्मी राउतका ६० वटा भेडा मरेको फाइमहादेव गाबिसका स्थानीय पीडित जनकप्रसाद पाण्डेले बताए ।
फाइमहादेव गाबिसका स्थानीयबासी शंकर उपाध्यायले पिपिआर रोगका कारण धेरै भेडाबाख्रा मरेका बताए । ‘गाउँ भरी रोग फैलिएको छ ’ उनले भने । त्यस्तै चिल्खाया गाबिस वडा नं. ६ का चन्द्र थापाका ६५, कर्ण थापाका ४५, अलि थापाका ३५ धान्य थापाका ११ भेडाबाख्रा र वडा नं ३ का टेकबहादुर शाहीका २९ भेडाबाख्रा मरेको पीडित टेकबहादुर शाहीले बताए ।
जिल्ला पशु सेवा कार्यालय कालिकोटले आयोजना गरेको सार्वजनिक सुनुवाईमा पीडित टेकबहादुर शाहीले भेडाबाख्रा मरेको जानकारी गराउँदा पनि पशु सेवा कार्यालय कुनै चासो नदेखाएको बताए । ‘गाउँमा भेडाबाख्रामा रोग फैलिएर मरिरहेका छन् ।’ उनले प्रश्न गरे,–‘पटक–पटक जानकारी गराउँदा पनि किन उपचार गर्न चासो देखाइएन ?’
जिल्ला पशु सेवा कार्यालय कालिकोटका प्रमुख बज्रकिशोर यादवले ३५ हजार पिपिआर खोप दिइएको बताए ।
जिल्लामा भेडाबाख्रा धमाधम मर्न थालेपछि जिल्ला पशु सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भेडाबाख्रा उपचारका लागि निवेदन पेश गरेको र त्यसमा कसैले चासो नदिएको उपाध्यायले बताए । ‘जिल्ला प्रशासन कार्यालय र पशु सेवा कार्यालयमा रोग नियन्त्रण गराई पाउँ भनेर निवेदन दिएका थियौं ।’ उनले भने,–‘तर, कसैले चासो देखाएन् ।’
जिल्लाका अधिंकास ठाउँमा पिपिआर रोग फैलिएको छ । त्यसको नियन्त्रणका लागि कुनै पहल नचालिएको चिल्खाया गाबिसका हरिचन्द्र थापाले बताए । ‘चिल्खायामा ८ हजारभन्दा बढी भेडाबाख्रा कृषकहरुले पालेका छन् ।’ उनले भने,–‘त्यसमा ३ हजारभन्दा बढी मरे ।’