राहुल गान्धीद्वारा माथिल्लो अदालतमा अपिल

दियो पोस्ट  

काठमाडौं । सुरतको एक अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता राहुल गान्धीले उक्त फैसलाविरुद्ध माथिल्लो अदालतमा अपिल गरेका छन् । गान्धीले सुरतकै सेसन कोर्टमा फैसलाविरुद्ध अपिल गरेका हुन् । फैसला नआएसम्मलाई अदालतले उनलाई धरौटीमा रहने छुट दिएको छ । सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । फैसला सुनाएको उक्त अदालत नगर तहको हो । गान्धीले त्यसविरुद्ध जिल्ला तहको सेसन कोर्टमा पुनरावेदन गरेका हुन् । गान्धीको अपिलमाथि अदालतले अगाामी १३ अप्रिलमा सुनुवाई गर्ने छ ।

गान्धी अदालत पुग्दै गर्दा ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता अदालतबाहिर थिए । प्रियंका गान्धी पनि दिल्लीबाट उनको साथमा पुगेकी थिइन् । २०१९ को एक चुनावीसभामा ‘यी सबै चोरको थर मोदी किन ?’ भन्ने दिएको भाषणलाई लिएर गान्धीविरुद्ध मानहानीको मुद्दा परेको थियो । अदालतले उनलाई दोषी ठहर गर्दै २ वर्षको जेल सजाएसँगै ३० दिनका लागि धरौटीमा रिहा तथा त्यस अवधिमा माथिल्लो अदालतमा अपील गर्ने समय दिएको थियो ।