काठमाडौं,२२ चैत । साझा बचाउनका लागि मेरो उम्मेदवारी हो । उनले भने भाषा, साहित्य र संस्कृतिको संरक्षण हुन सकेन भने हाम्रै इतिहास खोज्न प्रसस्त पैसा खर्च गरेर विदेशका विश्वविद्यालयहरूमा जानुपर्ने हुन्छ । त्यसैले भाषा, साहित्य र संस्कृतिको संरक्षणमा साझा प्रकाशनको भूमिका अहम् छ । संस्था बचाउनु मेरै मूल उद्देश्य हुनेछ ।
नेपालको जनपक्षीय साहित्यिक फाँटमा निरन्तर क्रियाशील मनोहर लामिछानेले यही चैतको २५ गते हुन गइरहेको साझा प्रकाशन सहकारी लिमिटेडको सञ्चालक समितिको सदस्यमा उम्मेदवारी दिएका छन् ।
आज साझा प्रकाशन आफैं जीवन मरणको सङ्घर्षमा छ । साझा राजनीतिक, व्यवस्थापकीय, पुस्तक बजारीकरण र रोयल्टीजस्ता अनेकौं समस्याहरूबाट ग्रसित छ उनले बताए । विकृति विसंगतिका विरुद्धमा म विजयी भएपछि सशक्त रुपमा आवाज उठाउनेछु । विजयी नभए पनि त्यो मेरो सचेत नागरिक र अंशियारको हैसियतले म निरन्तर सङ्घर्षशील रहनेछु । विगतमा पनि साझा बचाउ आन्दोलनमा मेरो सक्रिय सहभागिता थियो ।
उनले भने “म लेखक मात्र होइन प्रशासनिक व्यवस्थापक पनि हुँ । साझाले गर्ने काम जस्तै मैले करिब ३६ वर्षदेखि गरिआएको छु । म कसैको आशीर्वादबाट उठेको छैन । मेरो सीप, क्षमतासँग त्यहाँका कर्मचारी साथीहरू, अंशियारीहरू जानकार हुनुहुन्छ । यी सबै कारणले म विजयी हुन सक्छु भन्ने कुरामा मलाई पूर्ण विश्वास छ । मैले साझा प्रकाशनलाई भागवण्डाभन्दा वास्तवमा स्रष्टाहरूको साझा संस्था बनाउने मेरो प्रतिवद्धता हो ।”
कर्मचारीको पेसागत हक हितका साथै तिनको उच्च मनोबल बढाउने योजनासहित अहिलेसम्म बाँकी रहेको तलब भत्ता तत्काल उपलल्ध गराउने । व्यापार विविधीकरण गरी आय आर्जन बढाउनुका साथै साझालाई ऋणमुक्त गराई मुनाफामा लैजाने ।
सरकारबाट स्थायी संयन्त्रका साथ आवश्यक सहयोगका लागि पहलकदमी तीब्र बनाउने ।