उत्तराखण्डमा ७ नेपाली मजदुरको मृत्यु, मृतक सबै कञ्चनपुरका

दियो पोस्ट  

कञ्चनपुर । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा भएको सवारी दुर्घटना परि ७ नेपाली कामदारको मृत्यु भएको छ । सोमबार राती बेतालघाट नजिकै भएको दुर्घटनामा परि उनीहरुको मृत्यु भएको हो ।

मृतक सबै सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाका बासिन्दा रहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु सबैको सनाखत भएको भारतिय मिडिया हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

मृतक सबै बेतालघाटको उँचाकोट गाउँमा सञ्चालित जल जिवन मिसन परियोजनामा मजदुरी गर्दै आएका थिए । उक्त परियोजनाको काम सकिएपछि घर फर्किन उनीहरुले सोमबार राति नै चम्पावत जिल्लाको टनकपुरबाट गाडि रिजर्व गरेका थिए ।

बास्टाकोट गाँउका चालक राजेन्द्र कुमारले उक्त गाडि हाँकेका थिए । सोमबार राति १०ः३० बजे गाडि अनियन्त्रित हुँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परेका सबैको घटनास्थलमै मृत्यु भएको र गाडि सडकबाट २०० मिटर गहिराईमा खसेको भारतिय मिडियाले जनाएका छन् ।
नैनीतालको सदरमुकामदेखि ६० किलोमिटर टाढा उक्त दुर्घटना भएको भारतिय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि ७ जना नेपाली नागरिक सहित ८ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृतकहरुमा ५० वर्षीय भीष राम, ४५ वर्षीय धिरज, ३८ वर्षीय अनन्त राम चौधरी, ५५ वर्षीय उदय राम चौधरी, ४५ वर्षीय तीलक राम चौधरी, ६० वर्षीय गोपाल र ३८ वर्षीय भारतिय नागरिक राजेन्द्र कुमार रहेका छन् । अन्य दुई नेपाली नागरिक घाइते भएका छन् । घाइते हुनेमा शान्ति चौधरी र छोटु चौधरी रहेका छन् ।