एसीसी प्रिमियर कप: कतारविरुद्ध नेपाल ३२ रनले विजयी

दियो पोस्ट  

 काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो । कतारका लागि मोहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए भने महम्मद हनाफले २३, हिमान्छु राथोडले २२, अनदान मिर्जाले १९, कमरन खानले १८ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कतारलाई सस्तैमा समेट्न नेपालका तर्फबाट ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई/दुई विकेट लिए। यस्तै कुशल मल्ल र अभिनाश बोहोराले एक/एक विकेट लिए ।  त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो। नेपालका लागि ओपनर आशिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । आशिफले ४१ बलमा ६ चौकाको मद्दतले अर्धशतक प्रहार गरे। उनले जम्मा ५२ रन बनाएका हुन् । यस्तै दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा नटआउट ६४ रन बनाए ।

यस्तै कुशल मल्लले ३५ रन जोड्दा रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले ७, गल्शन झा र विवेक यादवले ५/५ रन बनाए । यता कतारका लागि हिमान्सु राथोड र मुसवार शाहले ३/३ विकेट लिँदा अमिर फारुकले एक विकेट लिए ।