टर्की हुँदै चारवटा मुलुक जाने नेपालीलाई इलेक्ट्रोनिक भिसा अनिवार्य

दियो पोस्ट डेस्क  

टर्कीको इस्तानवुल एयरपोर्ट हुँदै चारवटा मुलुक प्रवेश गर्ने नेपाली नागरिकलाई ‘इलेक्ट्रोनिक एयरपोर्ट ट्रान्जिट भिसा (इएटीभी)’ अनिवार्य गरिएको छ । टर्की हुँदै मेक्सिको, पानामा, कोलम्बिया र भेनेजुयला जाने नेपाली र भारतीय राहदानीबाहकलाई इलेक्ट्रोनिक ट्रान्जिट भिसा अनिवार्य गराइएको हो ।

यो नियम यहि सोमबार अर्थात् अप्रिल १५ देखि लागु गरिएको हो । टर्कीको दुतावासले सामाजिक सञ्जाल एक्समार्फत सूचना जारी गर्दै इलेक्ट्रोनिक ट्रान्जिट भिसाबारे जानकारी गराएको हो । ‘इस्तानबुल एयरपोर्ट हुँदै मेक्सिको, पानामा, कोलम्बिया र भेनेजुयला जाने नेपाली र भारतीय पासपोर्ट बाहकहरुको लागि इएटिभी अनिवार्य गरिएको छ’ उक्त पोष्टमा भनिएको छ, ‘नेपाली र भारतीय यात्रुहरुले यात्राको क्रममा अनिवार्य रुपमा आफ्नो इएटिभीको एक प्रति प्रिन्टसमेत आफुसँगै बोक्नुपर्नेछ । साथै त्यसमा सम्बन्धित एयरपोर्टले चेकजाँच गरेका अन्य व्यक्तिगत कागजात समेत संलग्न हुनुपर्नेछ ।’

टर्की हुँदै मध्य पुर्व तथा ल्याटिन अमेरिकादेखि उत्तर अमेरिकासम्म असामान्य रुपमा आप्रवासन बढेको भन्दै यो उपाय अपनाइएको जनाइएको छ । यात्रुहरुले उक्त भिसा मन्त्रालयको वेबसाइटमार्फत निःशुल्क प्राप्त गर्न सक्नेछन् । इभिसाको लागि आवेदन दिने यात्रुहरुले आफ्नो सम्पूर्ण विवरण, आवासिय ठेगाना र टिकट नम्बरहरु सहिरुपमा उल्लेख गर्नुपर्छ ।