इलाममा मतगणना शुरू हुँदै, कसले बार्ला बाजी ?

दियोपोस्ट संवाददाता  

इलाम २ मा शनिबार भएको मतदानपछि आज बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना शुरू हुँदैछ । गएरातिबाटै मतगणना गर्ने तयारी गरे पनि आज बिहानबाट मतगणना हुन लागेको हो ।

इलाम सदरमुकामको सिटी हलमा मतगणना हुँदैछ । मतगणना स्थललमा तार जाली लगाउने र सिसिटिभी लगाएर गणना गर्न लागिएको जानकारी सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले दिए ।

मतपत्र च्यातिन सक्ने जोखिमलाई अन्त्य गर्न तारताली भित्र गणक मात्रै बस्ने र दलका प्रतिनिधिले बाहिरबाट हेर्ने व्यवस्था गरिएको छ ।
७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरकमुकाम इलाम बजार ल्याइसकिएको छ ।

१९ उम्मेदवार प्रतिस्पर्धामा छन् । तर एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू, पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह लिम्बू प्रतिस्पर्धामा छन् ।

एमालेले १५ देखि २५ सय अन्तरले जित्ने आन्तरिक हिसाब निकालेको छ । उसले रास्वपा दोस्रो र कांग्रेसलाई तेस्रो स्थानमा राखेको छ ।

रास्वपाले आफूले तीन हजार अन्तरले चुनाव जित्ने र एमाले दोस्रो हुने हिसाब निकालेको छ । उसले पनि कांग्रेसलाई तेस्रो स्थानमा राखेको छ ।
अघिल्लोपटक साँघुरो ११४ मतले पराजित भएको भन्दै यसपटक आफूहरूले जित्ने हिसाब कांग्रेसको छ ।

पहिचानको मुद्दा पेचिलो भएको भन्दै पहिचानवादीले डेकेन्द्र हावी हुने बताइरहेका छन् ।

एक लाख १५ हजार मतदाता रहेको इलाममा अघिल्लोपटक एमालेका सुवास नेम्वाङ ३० हजार २० मत ल्याएर विजय भएका थिए । कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।