मोरङ , २७ चैत । मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् ।
मोरङको रङ्गेली नगरपालिका–९ का ३५ वर्षीय छेदनलाल मण्डलले यो वर्ष पनि चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गर्दै आएका छन ।
खोलाको बगरमा तरकारी फलाउने र आम्दानी लिने सोच राखेर तरकारीखेती गर्दै आउनुभएका मण्डलले दुई लाखको लगानीमा गत वर्षको मङ्सिरदेखि वैशाखसम्ममा रु छ लाख कमाए । यो वर्ष पनि रु पाँच लाख कमाएका छन । उनले यो वर्ष काँक्रा, तीतेकरेला, फर्सी, लौका, तरबुजा, रोप्नुभएको छ । उनले – “जान्यो भने बगरमै पैसा फल्नेरहेछ ।”
विगत वर्षमा बगरमा तरकारीखेती गरेर राम्रो आम्दानी लिन
सफल रङ्गेली–९ कै २८ वर्षीय बुनीलाल मण्डलले यो वर्ष एक लाखको लगानीमा एक बिघा, ३० वर्षीय धीरज मण्डलले दुई लाखको लगानीमा दुई बिघा र २८ वर्षीय रामखिलान मण्डलले एक लाखको लगानीमा एक बिघा चिसाङ खोला बगरमा तरकारीखेती लगाउनुभएको छ ।
उनीहरुले पनि गत वर्ष रु तीनदेखि रु छ लाख आम्दानी गर्नुभयो । यस वर्ष रु चार लाख आम्दानी गरिसक्नुभएको छ । उनीेहरुले तरबुजा, काँक्रा, तीतेकरेला, फर्सी, लौका फलाएर आम्दानी गरेका छन् ।
त्यस्तै महादेवा गाविसमा २०० जना किसानले १४÷१४ जनाको समूह बनाएर बगरमा व्यावसायिक तरकारीखेती गरिरहेको किसान रमेश ताजपुरियाले बताए । उनीलगायत २०० जनाले बक्राखोलाको १५ बिघा बगरमा वार्षिक १० लाखको लगानीमा तरकारी लगाएर करिब २० लाख रुपैयाँ आम्दानी गदै आएका छन् ।
त्यस्तै, पथरीका किसान प्रकाश पोखरेल, सुलभ कार्की, कृष्ण ढुङ्गानालगायत झन्डै २०० जनाका कृषकले जनही ७० हजार लगानी गरी पथरी खोला बगरमा सिमसाग लगाएर जनही वार्षिक तीन लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।
मोरङका किसानले यसपटक पनि पथरी खोलाको १० बिघा बगरमा, रङ्गेली नगरपालिका र महादेवा गाविसका किसानले डाँस खोलको नौ बिघा बगरमा, बक्राहा खोलाको १५ बिघा बगरमा, र सीता खोलाको पाँच बिघा बगरमा तरकारीखेती गरिरहेका छन् ।
बालुवामा तरकारी फलाउने सोच राखेर खोलाको आसपासमा बस्दै आएका युवा सिमसाग खेतीमा लागेको मोरङको जिरी खिम्ती–१ का स्थानीय किसान बाबुराम ढुङ्गानाले बताए ।