माग पूरा गराउन जङ्गल जानु र नाकाबन्दी गर्नुपर्दैन – उपप्रम थापा

दियो पोस्ट  

दाङ, २७ चैत । उपप्रधानमन्त्री एवम् परराष्ट्र तथा स्थानीय विकासमन्त्री कमल थापाले व्यवस्था परिवर्तनका लागि अब फेरि पहिलाको जस्तै आन्दोलन नै गर्नु नपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपाल, दाङ शाखाले घोराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बताए, “संविधानबाटै आफ्ना मान्यता स्थापित गराउन सकिन्छ, अब आफ्ना माग पूरा गराउनका लागि बन्दुक बोकेर जङ्गल पनि जानु पर्दैन, सीमामा बसेर नाकाबन्दी पनि गर्नुपर्दैन ।”

संविधानमा कुनै पनि कुरा अपरिवर्तनीय नभएको बताउँदै उपप्रधानमन्त्री थापाले अब राप्रपा नेपालले पनि संविधानको माध्यमबाट आफ्ना मान्यता स्थापित गराउने दाबी गरे । जनताको विश्वास भए संविधानमा हिन्दु राज्य र राजतन्त्र फिर्ता हुनसक्ने उनको भनाइ थियो ।

एक अर्को प्रसङ्गमा उपप्रधानमन्त्री थापाले अहिले नै सरकारको विकल्प खोज्ने बेला भइनसकेको बताए । संविधान कार्यान्वयनका धेरै काम बाँकी रहेको र सरकार गठनको छ महिनामात्रै भएको हुँदा अहिले नै सरकार परिवर्तनको हल्ला चलाउनु सरकार र संविधानलाई कमजोर गराउने खेलमात्रै भएको उनको जिकिर थियो ।