परनिर्भरता न्यूनीकरण गर्नुपर्छ ः मन्त्री पुन

दियो पोस्ट  

काठमाडौँ, २७ चैत । आपूर्ति मन्त्री गणनेशमान पुनले दैवीप्रकोप तथा विपदमा मानवीय जीवन जोखिममुक्त बनाउन सामुदायिक सङ्गठनको खाँचो रहेको बताए।

नेपाल रेडक्रस सोसाइटी, सीतापाइला शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले यसवर्ष भूकम्प तथा नाकाबन्दीजस्तो विपद सामना गर्नु परेकाले अब यस्ता घटनाबाट पाठ सिकेर समाजप्रति जिम्मेवार सामुदायिक संस्था निर्माण तथा परनिर्भरता न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भूकम्पले बिग्रिएको संरचनाका पुनःनिर्माण जरुरी रहेको बताउँदै मानिसको सोच र मन समेत परिवर्तन गर्नुपर्ने विचार व्यक्त गर्दै भूकम्प तथा नाकाबन्दीका समयमा भएको असहज आपूर्तिलाई व्यवस्थापन गर्न व्यापारको विविधिकरण र भण्डारण क्षमता बढाउनुपर्ने बताए ।

सांसद राजेन्द्र पाण्डेले नेपाल रेडक्रसले दैवी प्रकोप, भूकम्प तथा अन्य विपतमा मानवीय उद्धारका साथै रक्त सङ्कलनको क्षेत्रमा सहयोग गर्दै आएकोमा त्यसको सराहना गरे ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले सो संस्थाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वय गरी देशभर शाखा विस्तार गरी मानवीय सहयोग उपलब्ध गराउने नीति रहेको बताए ।