काठमाडौँ, १ वैशाख । स्थानीय प्राचीन नगर टोखामा महत्वपूर्ण मानिएको पर्व बिस्केट जात्रा आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष वैशाख १ गतेदेखि ४ गतेसम्म मनाइने जात्रामा स्थानीय गणेश, कुमारीलाई खटमा राखेर जात्रा गरिन्छ । जात्रा सुरु गर्नका लागि पञ्च बलिसमेत दिइएको मेला व्यवस्थापन समितिका संयोजक हेमराज श्रेष्ठले बताए ।
सो अवधिमा स्थानीय चोकमा विभिन्न देवदेवीका मुकुन्डो लगाएर नाच गर्ने परम्परा छ । विभिन्न किसिमका भय तथा दैवीप्रकोपबाट त्यहाँका स्थानीयवासीलाई सुरक्षित गर्नका लागि बिस्केट जात्राको परम्परा सुरु भएको जनविश्वास रहेको मणिराज डङ्गोलले बताए ।
सोही स्थानमा रहेको स्थानीय सपन तीर्थ पोखरीमा स्नान गर्न आज दर्शनार्थीको भिड लागेको छ । काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट त्यहाँ मेला भर्न आएका छन् । सो पोखरीमा स्नानका लागि आज एक दिन मात्र मेला लाग्छ ।
उक्त पोखरीमा आजको दिन स्नान गरेमा विभिन्न रोगव्याधिबाट मुक्त होइने र पुण्य लाभ हुने विश्वास गरिएको स्थानीय नेवा गुठीका अध्यक्ष देवराज डङ्गोलले बताए ।